राजनीति


नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १८:५०, काठमाडौँ

नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो। 

कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। 

उनी ०६६ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। एसएसपी हुँदा काठमाडौँ प्रहरी परिसर प्रमुख थिए। त्यसबाहेक उनी प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत रहे। 

कार्की ०८१ साल जेठमा डीआईजीमा बढुवा भएका थिए। डीआईजी भएपछि पनि महानिरीक्षकको सचिवालयमै कार्यरत कार्कीले प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। 

०८२ वैशाखमा उनी पहिलो नम्बरमै एआईजीमा बढुवा हुँदा राजन अधिकारी र मनोजकुमार केसी पनि एआईजी भएका थिए। अधिकारी र केसी पनि कार्कीकै ब्याची हुन्। 

एआईजीमा बढुवा भएपछि प्रहरीको मानव स्रोत विभागमा पदस्थापन भएका कार्कीलाई जेनजी आन्दोलनको क्रममा भदौ २३ गते ठूलो मानवीय क्षति भएपछि २४ गते काठमाडौँ उपत्यका प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो। 

उपत्यकाको जिम्मेवारी सम्हालेका कार्कीले आन्दोलनकारीमाथि मानवीय क्षति हुने गरी बल प्रयोग नगर्न ब‍रु हातहतियार, सवारी साधनको साथै कार्यालयका महत्त्वपूर्ण सामान र आफ्नो सुरक्षामा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad