खेल


राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १७:४१, नेपालगन्ज

दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसा सिंह ठकुरीले जितेका छन्।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा आयोजना गरिएको यो दौड स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व बुझाउँदै दौडमा आकर्षित गर्ने उद्देश्यले गत वर्षदेखि सुरु भएको हो।

शनिबार राप्तीसोनारी, मदुवामा भएको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए। त्यस्तै छात्रातर्फ रामबहादुर बिक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, बिशाल सुनार, आशीक थारु शीर्ष दसमा स्थान पाए।

छात्रातर्फ अनिसा थारु दोस्रो र अन्चल कुमारी थारु तेस्रो भइन्। यसका साथै मिना बिष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, रामकुमारी थारु शीर्ष दसमा परे।

पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः  ५ हजार, ३ हजार र १ हजार नगद तथा पदकले पुरस्कृत गरिएको थियो। पुरस्कार वितरण राप्तीसोनारी गाउँपालिका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नं. ५ का अध्यक्ष झगरु थारु, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्तीसोनारी खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर केसी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओलीले गरे।

कार्यवाहक अध्यक्ष खड्काले राप्तीसोनारी नेचर रनलाई गाउँपालिकाको बार्षिक कार्ययोजनामा समेट्ने र सबै नौ वटै पालिकाले आर्थिक तथा सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

करिब १३० जनाले भाग लिएको दौडबाट शीर्ष दस खेलाडीलाई मंसिर ६ गते हुने ११औं धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिने अवसर प्रदान गरिएको छ, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए।

यसअघि गत असोजमा गौघाट ग्रीन रन, साथै काठमाडौंको २५ के हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, कर्णाली हाफ म्याराथन लगायत कार्यक्रमहरू पनि धारा नेपालगन्ज म्याराथनका भगिनी इभेन्टका रुपमा सञ्चालन भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad