राजनीति


भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने जेन-जीको मुख्य माग नै सरकारले वास्ता गरेनः बाबुराम

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने जेन-जीको मुख्य माग नै सरकारले वास्ता गरेनः बाबुराम

फाइल फोटो


नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १६:४९, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित जेन-जी अगुवाहरुकोसंगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले जेन-जी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिए।

जेन-जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उनको भनाई छ। उनले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानबिनको लागि प्रक्रिया अगाडी बढाउन दबाब दिन सुझाव दिए।

उनले भदौ २३ को आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गरे। उनले छानबिनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताए। यसले गर्दा प्रमाण नष्ट हुने र दोषि उम्कने उनको दाबी छ।

निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उनको भनाई छ। निर्वाचन नभएमा संविधान असफल हुने उनको भनाई छ। उनले संविधानलाई असफल बनाउन केही तत्वहरु सक्रिय भएको पनि बताए।

दुर्गा प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै उनले संविधान असफल बनाउनेहरुसँग सतर्क हुँदै बेलैमा निर्वाचन गर्नुपर्नेमा जोड दिए। निर्वाचनको लागि सरकारले दुई वटा काम गर्नुपर्ने उनको भनाई छ।

उनले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने भन्ने मुख्य माग हो नी त तपाईंहरुको, खै त्यो अहिले सुरुवात भएको। अहिले गर्न नसकिएला सुरुवात त गर्न सकिन्छ। जो ठूला भ्रष्टाचारी हुन्, जुन देखिएका ठूला ठूला काण्ड हुन्। त्यो प्रक्रिया शुरु गर्न त सकिन्छ। हो त्यसमा तपाईहरुको दबाब हुनुपर्‍यो। सँगसँगै अब चुनाव गर्नुपर्छ , अब चुनाव गरिएन भने के हुन्छ भने संविधान त डिरेल हुन्छ, यही आधा गिलास पनि घोप्टिन्छ, फेरि।’  

उनले विदेशमा भएकाहरुलाई पनि भोट हाल्ने व्यवस्था गर्नुपर्ने र जेन–जीहरुलाई मध्यनजर गरेर मतदान गर्ने उमेरलाई १६ वर्ष र उम्मेद्वार बन्न पाउने उमेरलाई १८ वर्ष कायम गर्नुपर्ने बताए।

हाल मतदान गर्नको लागि १८ वर्ष हुनुपर्नेछ भने प्रतिनिधि सभाको सदस्य हुनको लागि २५ वर्ष र स्थानीय तहको जनप्रतिनिधि हुनको लागि २१ वर्षको हुनुपर्नेछ। उनले यसलाई घटाएर तल्लो तहमा १८ र माथिल्लोमा २१ वर्ष कायम गर्न दबाब दिन सुझाव दिए। 

उनले जेन–जीहरुलाई एकजुट भएर सरकारसँग आफ्ना माग राख्न पनि सुझाव दिए। सरकारले अध्यादेशमार्फत यी मागहरु पूरा गर्नसक्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad