खेल


इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार ११:३८, काठमाडौँ

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो।

३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन्।

सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए। लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनाका साथै ५ क्याच लिएका थिए।

‘जोहन सिम्पसनले आफ्नो प्रमाणित नेतृत्व क्षमता, अनुभव र संयमता यस समूहमा लिएर आउने छन्, देब्रेहाते विकेटकिपर-ब्याटर उनले काउन्टीमा वर्षौदेखि सफलता पाउँदै आएका छन्,’ काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिम्पसनबारे भने, ‘उनी अहिले ससेक्सको नेतृत्व पनि गरिरहेका छन्। उनको व्यावसायिकता र शान्त स्वभाव अमूल्य छ। काठमान्डु गोर्खाज परिवारमा उनलाई आबद्ध गर्न पाउँदा हामी निकै खुसी छौँ र उनको आगमनले हाम्रो ब्याटिङ र विकेटकिपिङलाई थप मजबुत बनाएको छ।’

सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढि रन बनाएको अनुभव छ। २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन्।

सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए। यो उनको पछिल्लो खेल थियो।

त्यस्तै उनले ११५ लिस्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका छन्। ट्वान्टी-२० मा उनले १९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन्। ससेक्सअघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए।

उनले द हन्ड्रेडमा लांकसायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेलिरहेका छन्। भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेलिरहेका छन्।

राजधानीको टोलीले भित्र्याएका उनी पाँचौँ विदेशी खेलाडी हुन्।

यसअघि काठमान्डु गोर्खाजले इंग्ल्यान्डमा खेलिरेहका दक्षिण अफ्रिकाका विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इंग्लिस काउन्टी खेलिरहेका बेन चाल्सवर्थलाई आउँदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad