मलेसियाविरुद्धको महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी भएको छ।
मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।
योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखलामा २–२ को बराबरी भएको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।
तेस्रो खेलमा १३ रनले पराजित नेपालले आज भएको चौथो खेलमा विजय हासिल गरेको हो।
मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन्। त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन्।
मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो।
उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन्। माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन्।
नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लिए।
अब शृंखलाको अन्तिम खेल बुधबार हुनेछ।
Shares

प्रतिक्रिया