खेल


कीर्तिमानी जितसँगै सिरिज नेपालको पक्षमा, वेस्ट इन्डिज ८३ रनमा अलआउट

कीर्तिमानी जितसँगै सिरिज नेपालको पक्षमा, वेस्ट इन्डिज ८३ रनमा अलआउट

नेपालखबर
असोज १३, २०८२ सोमबार २३:३०, काठमाडौँ

वेस्ट इन्डिजमाथि लगातार दोस्रो जित हात पार्दै नेपालले तीन खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारेको छ। 

संयुक्त अरब इमिरेट्सको सारजहा क्रिकेट स्टेडियममा सोमबार भएको सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो। 

नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त टोलीसँग टी–२० आई सिरिज खेलेको हो। 

पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले वेस्ट इन्डिजमाथि लगातार कीर्तिमानी जित निकालेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७४ रनको विशाल लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो। 

तीन वर्षपछि क्रिकेटमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले ४ विकेट लिए। आदिलले आफ्नो स्पेलमा मात्र २४ रन खर्चे। 

कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो। 

त्यसअघि युएईको सारजाहस्थित क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रनको योगफल तयार पारेको थियो। 

नेपाल एक समय ६.४ ओभरमा ३–४३ को अवस्थामा रहेको थियो। चौथो विकेटका लागि सन्दीप जोरा र आशिफ शेखले १ सय रनको साझेदारी गरेपछि नेपाल बलियो योगफलतर्फ उन्मुख भएको थियो। ३९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका सन्दीप ६३ रन बनाउँदा क्याच आउट हुन पुगे। 

नेपालका तर्फबाट पूर्ण टेस्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने सन्दीप दोस्रो खेलाडी हुन्। सन्दीपले ३४ बलमा ३ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। राष्ट्रिय टोलीका लागि सन्दीपको यो तेस्रो अर्धशतक हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेल २ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेल ३ रन बनाउँदा बोल्ड आउट भए। कुशल मल्ल ३ रनमा रनआउट हुन पुगे। 

गुल्सन झा ६ रनमा क्याच आउट भए। 

आशिफ शेख ६८ रनमा अविजित रहे। आशिफले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

आशिफ शेखले ३४ बलमा ८ चौका सहयोगमा अर्धशतक पूरा गरेका थिए। पुर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ पहिलो नेपाली खेलाडी हुन्। 

मोहम्मद आदिल आलम ५ बलमा १ चौका र १ छक्का सहयोगमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

वेस्ट इन्डिजका लागि अकिल हुसैन र काइल मेयर्सले समान २ विकेट लिए। जेडिया ब्लाडेसले १ विकेट आफ्नो नाममा गरे।

सिरिजको तेस्रो तथा अन्तिम खेल भोलि मंगलबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad