प्रिमियर लिगको कडा प्रतिस्पर्धात्मक खेलमा आर्सनलले म्यानचेस्टर सिटीसँग बराबरी खेलेको छ।
सब्स्टिच्युट खेलाडी गेब्रियल मार्टिनेलीले अन्तिम समयमा बराबरी गोल गर्दै हारको मुखबाट आर्सनललाई जोगाएका हुन्।
यसअघि च्याम्पियन्स लिगमा एथलेटिक क्लबविरुद्ध गोल र असिस्ट प्रदान गर्दै मार्टिनेलिले बेन्चबाट प्रभाव पारेको यो लगातार दोस्रो खेल हो।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले मंगलबार बिल्बाओमा भएको जितपछि सुरुवाती ११ भन्दा बाहिरका स्ट्राइकर बढी महत्त्वपूर्ण हुन सक्ने बताएका थिए। जुन दाबी पुनः पुष्टि भएको छ।
नवौं मिनेटमा एर्लिङ हालान्डले सिटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको धेरैजसो समय आर्सनलले बराबरी गोलका लागि जोड दिएको थियो। तर ९३ औं मिनेटमा मार्टिनेलीले त्यो लक्ष्य पूरा गर्दै घरेलु दर्शकलाई निराश हुनबाट जोगाए।
ह्यामस्ट्रिङको चोटबाट फर्किरहेका एबेरेची एजे र बुकायो साकालाई दोस्रो हाफको सुरुवातमा प्रवेश गराएपछि घरेलु टोलीको गती बढेको थियो।
यद्यपि, सिटीले काउन्टर आक्रमण बुनिरह्यो।
पछिल्लो चरणमा, सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले आर्सनलको आक्रमण जोगाउने रणनीति बुने। पाहुना टोली सिटी आफ्नो अग्रता जोगाउन खोजिरहेको थियो।
आफ्नो व्यवस्थापकीय करियरमा ग्वार्डियोलाविरुद्ध लगातार पाँच खेलमा अपराजित रहने अर्टेटा अब एक मात्र प्रशिक्षक हुन्। पाँच खेलबाट आर्सनल १० अंकसहित दोस्रो र ७ अंक जोडेको सिटी नवौँ स्थानमा छन्। सतप्रतिशत जितसहित लिभरपुल शीर्षस्थानमा छ।
Shares

प्रतिक्रिया