थाइल्यान्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवान ललितपुर क्विन्समा आबद्ध भएकी छिन्।
पोखरामा अर्को सातादेखि सुरु हुने एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको हो।
ललितपुरले यस अघि थाइल्यााण्डकै वारन्या श्रीलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ।
३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता देशहरूमा खेलेको अनुभव छ। उनी सम्मिलित थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कास्य पदक जितेको थियो । उनको आगमन सँगै टोली थप बलियो भएको विश्वास ललितपुरको छ।
आफ्नो साथीहरू खेलेको भएर गत संस्करणको लिग उनले हेरेको र लिगको बारे आफू जानकार रहेको उनी बताउँछिन्।
ललितपुर उत्सव खड्काको नेतृत्वमा रहनेछ। टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन्। ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरेको थियो। ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ।
रुप्से होलिडेजले ललितपुर क्विन्स मुख्य प्रायोजन गरेको छ भने प्रायोजकको रुपमा आईएमई जनरल इन्स्युरेन्स लिमिटेडले ललितपुरलाई साथ दिएको छ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ।
Shares

प्रतिक्रिया