खेल


संकटा र छहारीको दोस्रो जित

संकटा र छहारीको दोस्रो जित

नेपालखबर
भदौ ३, २०८२ मंगलबार २०:४९, काठमाडौँ

संकटा क्लव र छहारी युवा क्लवले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएका छन्। 

सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदानमा मंगलबार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध ६–१ को सानदार जित निकालेका हुन्। 

सात टोली रहेको समूह ‘ए’ मा छहारीले दुई खेलमा सतप्रतिशत जित आत्मसात् गर्‍यो। अर्को समूह ‘बी’ को टोली संकटाको पनि दोस्रो जित हो। 

छहारीले पहिलो खेलमा एफसी रियलेलाई ३–० ले पराजित गरेको थियो। पहिलो पराजय व्यहोरेको स्टुडेन्ट दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ। यसअघि स्टुडेन्डले सिन्धुपाल्चोक एफसीलाई ३–१ ले हराएको थियो। 

छहारीको जितमा सुमित्रासिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललिता मण्डल, सानिमामाया लो र दीपा पुनमगरले समान एक गोल गरे। 

स्टुडेन्डका लागि सबिना तामाङले गोल फर्काइन्। खेलको १६औं मिनेटमा समित्राको गोलमार्फत छहारीले अग्रता लिएको थियो। ३५औं मिनेटमा अस्मिताले टोलीको अग्रता दोब्बर बनाइन्। 

त्यसको तीन मिनेटपछि नै सुमित्राले व्यक्तिगत दोस्रो गोल गरिन्। यससँगै पहिलो हाफमा छहारी ३–० ले अगाडि रह्यो।

दोस्रो हाफमा छहारीले तीन गोल थप्दा एक गोल पनि सामना गर्‍यो। ५६औं मिनेटमा ललिताले गोल गर्दै छहारीको अग्रता ४–० मा पुर्‍याइन्।

सबिनाले ६७औं मिनेटमा स्टुडेन्टका लागि गोल फर्काउँदै अग्रता छोट्याइन्। सानिमाले ७५औं र दीपाले ७६औं मिनेटमा गोल गरे। त्यसपछि थप गोल हुन सकेन र छहारीले ६–१ को सानदार जित निकाल्यो।

दिनको दोस्रो खेलमा नेपाली यु–२० महिला टोलीका स्टार खेलाडीले भरिएको संकटाले पनि झापामाथि सहज जित निकाल्यो। दुवै हाफमा समान दुई गोल भए।

सुक्रिया मियाले दुई तथा प्रतीक्षा राई र रेनिसा शर्माले समान एक गोल गरे। २०औं मिनेटमा सुक्रियाको पेनाल्टी गोलबाट संकटाले अग्रता लिएको थियो। झापाका डिफेन्डरले सुक्रियालाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले अवसर पाएको हो।

२६औं मिनेटमा संकटाले अर्को पेनाल्टी पायो। यसपल्ट झापाका खेलाडीले पूर्णिमा राईलाई लडाएपछि संकटाले अग्रता दोब्बर बनाउने अवसर पाएको हो।

५५औं मिनेटमा झापाकी गोलकिपर सूजता तामाङले फुत्काएको बललाई नियन्त्रणमा लिँदै प्रतीक्षाले खाली पोस्ट गोल गरिन्। ८९औं मिनेटमा रेनिसा शर्माले संकटाको चौथो गोल गरिन्।

सेनु परियारको कटब्याकलाई वान टचमार्फत रेनिकाले बललाई जाली चुमाइन्। त्यसपछि संकटाले झापामाथि ४–० ले सहजै आफ्नो बनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad