वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमायमा किएडललाई अनुबन्ध गरेको छ।
काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकररअपोजिट ओउमायालाई अनुबन्ध गरेको हो।
काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ।
तीन फरक पोजिसनका खेलाडीलाई अनुबन्ध गर्दै काठमाडौं स्पाइकर्सले आफ्नो टिमको सन्तुलन बलियो बनाएको छ। पहिलो सिजनमा काठमाडौंबाट टर्की र बुल्गेरियाका विदेशी खेलाडीले खेलेका थिए।
एक दशकभन्दा लामो समयको अनुभव रहेको ओउमायमा कोडिएलले विशेषगरी मिडल ब्लकरको रुपमा खेल्दै आएकी छन्। उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन्। स्लाइड अट्याकमा उनको विशेष दख्खल रहेको छ।
मोरोक्कोमा जन्मिएकी कोडिएल इटली सरेपछि इटलीबाटै खेल्न थालेकी हुन्। उनले इटली, फ्रान्स, मोरक्को, साउदी अरेबिया लगायत देशमा विभिन्न टिममा रहेर प्रतियोगिताहरू खेलिसकेकी छन्। टिम र व्यक्तिगत रुपमा पनि उनले धेरै उपलब्धीहरू हासिल गरेकी छन्।
उनले पछिल्लो समयमा साउदी अरेबियाको अल इतिहाड एफसी, मोरोक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्कारा जस्ता टिमबाट व्यावसायिक भलिबल खेलेकी छन्।
कोडिएलले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्समा कांस्य पदक जितेकी थिइन्। यस्तै, सन् २०२१ मा किगालीमा भएको अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा पनि उनले मोरोक्कोका लागि कांस्य जितेकी थिइन्।
पहिलो पटक नेपालमा लिग खेल्न आउन लागेकी कोडिएल निकै उत्साहित छन्।
‘नेपालमा एभरेष्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो। यो मेरो लागि नेपालमा पहिलो पटक हो, र म देशबारे बुझ्न, फ्यानहरूलाई भेट्न र मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न साँच्चै उत्सुक छु’ उनले भनिन्।
यस लिगले खेलाडीको विकासमा सहयोग पुर्याउने र यसको हिस्सा बन्न उत्सुक रहेको बताइन्।
‘मलाई लाग्छ नेपालमा यो महिला भलिबल लिगको दोस्रो संस्करण हेर्न पाउनु अद्भुत छ। यो खेलाडीहरूको लागि मात्र होइन, एसियामा महिला भलिबलको विकास र प्रगतिको लागि पनि महत्त्वपूर्ण कदम हो। म यो अनुभवको हिस्सा बन्न पाउँदा साँच्चै खुसी छु, म जुनसुकै तरिकाले योगदान गर्न सक्छु, र म यो यात्रालाई फ्यानहरू र मेरा टोलीका साथीहरूसँग साझा गर्न उत्सुक छु।’
तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि काठमाडौंको टिममा खेलाडी संख्या ११ पुगेको छ। अब ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेअरमा निरन्तरता दिएको काठमाडौंले खेलाडी अक्सनबाट ७ खेलाडी अनुबन्ध गरेको थियो।
काठमाडौंले अक्सनबाट छनौट गरेका खेलाडीमा मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्। कमलाले पहिलो सिजन पनि काठमाडौंबाटै खेलेकी थिइन्।
दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) सम्म हुनेछ।
काठमाडौं स्पाइकर्स टिमः उषा भण्डारी (मार्की प्लेअर), मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द
मुख्य प्रशिक्षकः लोक बहादुर बुढा
गुडविल एम्बासडरः अदिती बुढाथोकी
Shares

प्रतिक्रिया