एएफसी महिला च्याम्पियन्स लिगका लागि नेपाल एपीएफ क्लबले दुई डिफेन्डरलाई टोलीमा भित्राएको छ।
एपीएफले च्याम्पियन्स लिगका लागि नेपाल पुलिस क्लबबाट समीक्षा घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लबबाट विमला विकलाई टोलीमा अनुबन्ध गरेको छ।
यस्तै मुख्य प्रशिक्षकको जिम्मा भने एपीएफले नेपाल पुलिस क्लब कै प्रशिक्षक चेतन घिमिरेलाई सुम्पेको छ। घिमिरे एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
क्लब च्याम्पियन्स लिगमा टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने टोलीमा हुने छैनिन्। एन्फा महिला लिगको च्याम्पियनको रुपमा एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्न लागेको हो।
एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफ समुह बी मा परेको छ। एपीएफ रहेको समुहमा साउदी अरबको अल नासर, आयोजक उज्वेकिस्तानको पिएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स रहेको छ।
समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म उज्वेकिस्तानमा हुनेछ। छनोटमा सहभागी १९ टोलीलाई ५ समुहमा विभाजन गरिएको छ। समूह चरणमा ४ समूहमा ४ टोली र एक समूहमा ३ टोली रहेका छन्। हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्।
यसअघि नै छनोट भइरहेका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा स्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया