चेल्सीले अजाक्सका डिफेन्डर जोरेल हाटोका लागि ३७ मिलियन युरो (नेपाली रुपैयाँ ५ अर्ब ९७ करोडभन्दा बढी) खर्च गरेको छ।
चेल्सीले हाटोलाई ३७ मिलियन प्रारम्भिक शुल्कमा क्लबमा भित्र्याएको छ।
१९ वर्षीय हाटोले सन् २०३२ सम्म चेल्सीमै रहने गरी सम्झौतामा हस्ताक्षर गरेका छन्।
चेल्सीले हाटोलाई ब्याकलाइनमा चुनौती दिन युवा विकल्पका रूपमा लिएको छ। हाटो लेफ्ट ब्याक र सेन्ट्रल डिफेन्समा खेल्ने क्षमता राख्छन्।
हाटोले सन् २०२३ मा १६ वर्ष ३ सय ३५ दिनमा अजाक्सका लागि सिनियर टोलीमा डेब्यु गरेका थिए। उनी क्लबका लागि एरेडिभिसी खेल्ने तेस्रो सबैभन्दा कान्छो खेलाडी हुन्।
उनी एरेडिभिसी टोलीका लागि ७५ खेल खेलिसकेका छन्। नेदरल्यान्ड्सका लागि सन् २०२३ मा सिनियर टोलीमा डेब्यु गरेका थिए।
अजाक्सले कोष जुटाउन हाटोलाई बेच्ने निर्णय गरेको थियो। हाटोसँगै चेल्सीले यो समरमा आठ खेलाडी थपेको छ।
चेल्सीले अहिलेसम्म २ सय ५० मिलियन पाउन्डभन्दा बढी खर्च गरेको छ।
१ सय ५० मिलियनमा खेलाडी बिक्री गरेको छ।
चेल्सीले यो समरमा जेमी गिटेन्स, जोआओ पेड्रो, लियाम डेलाप, मामाडोउ सार, डारियो एसुगो, एस्टेभाओ विलियन र केन्ड्रे पाइजलाई अनुबन्ध गरिसकेको छ।
Shares

प्रतिक्रिया