यसको उत्तर सोमबार बिहान पाइने छ। जब आयोजक ब्राजिलले रियो दी जेनिरियोको ऐतिहासिक माराकाना स्टेडियममा ७० हजार दर्शकअघि अन्डरडग पेरुको सामना गर्नेछ।
ब्राजिल नवौं कोपा अमेरिकाको उपाधिको खोजीमा छ। २००७ पछि पहिलो। पेरुले भने १९३९ र १९७५ मामात्रै उपाधि जित्न सकेको छ।
ब्राजिलले घरेलु मैदानमा आयोजना भएका सबै चार कोपा अमेरिकाको उपाधि जितेको छ। अन्तिम पटक १९८९ मा घरेलु मैदानमा ब्राजिलले जितेको थियो। जतिबेला उरुग्वेविरुद्ध यही माराकाना स्टेडियममा रोमारियोले निर्णायक गोल गरेका थिए।
दुई हप्ताअघिमात्रै ब्राजिलले आफ्नो छिमेकी देश पेरुलाई ५–० ले साउ पाउलोमा स्तब्ध पारेको थियो। जसमा कासिमिरो, रोबार्टो फिर्मिनो, एभर्टन, डानी अल्भेस र वालियनले गोल गरेका थिए। ब्राजिलले ६–० ले पनि जित्न सक्थ्यो तर ग्याब्रिअल जिससले पेनाल्टीमा गोल गर्न सकेनन्। उक्त नतिजाले पेरुलाई प्रतियोगिताबाट बाहिर्याउँने संघारमा समेत पुर्याइदिएको थियो।
तर, फाइनल भने निकै फरक हो। दुबै टोलीका खेलाडीहरुले आफ्नो जोड लगाएका छन्।
‘प्रत्येक खेलको फरक कथा हुन्छ,’ ब्राजिलका स्ट्राइकर एभर्टन भन्छन्। उनी घाइते नेमारको स्थानबाट खेलिरहेका छन्। र, उनीसँग इञ्जुरीबाट फर्किएका फिलिप्पे लुइस या अलेक्स सान्ड्रो हुनेछन्।
पेरुका भेट्रान स्ट्राइकर पाउलो गिरारो उपाधिमा जसको पनि दाबेदारी हुनसक्ने बताउँछन्। ‘फाइनलमा कोहीपनि दाबेदार हुँदैनन्। दुबै टोली यसका हकदार हुन्,’ उनले भने।
पेरुले मिडफिल्डर जाफेर्सन फर्फनलाई फाइनलमा इञ्जुरीका कारण गुमाउने भएको छ। यस्तै दुई गोल गरेका अर्का मिडफिल्डर इडिसन फ्लोरेसले पनि खेल्ने निश्चित छैन्।
ब्राजिलले जारी कोपा अमेरिकामा बोलिभियालाई ३–०, पेरुलाई ५–० र सेमिफाइनलमा अर्जेन्टिनामाथि २–० को सजिलो जित निकाल्यो। तर, धेरै समर्थकहरु भेनुजिएला र पाराग्वेसँग भएको बराबरीले चिन्तित भएका छन्।
समूह चरणमा तेस्रो भएर पनि उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीलाई अन्तिम आठमा मौका दिइने नियमानुसार पेरुले नकआउट चरणमा स्थान बनाएको थियो। भेनुजिएलाविरुद्ध उसले गोलरहित बराबरी खेलेको थियो भने बोलिभियालाई ३–१ गोलअन्तरले पराजित गरेपछि क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
ब्राजिलसँग पराजित भएपछि पेरुले आफूलाई गजबै तरिकाले प्रस्तुत गर्यो। उपाधि दाबेदार उरुग्वेलाई पेनाल्टीमा पराजित गर्यो भने चिलीलाई सेमिफाइनलमा ३–० गोलअन्तरले स्तब्ध पार्यो।
घरेलु मैदानमा भइरहेकाले पनि ब्राजिलका समर्थकहरु यस दक्षिण अमेरिकी कप जित्नेमा बढी आशावादी छन्। तर, प्रतियोगिताको प्रदर्शनले ब्राजिलको आगामी बाटो तय गर्नेछ। यदि पराजित भएमा भने ब्राजिलको फुटबलमा केही परिवर्तन जरुर देखिनेछ। प्रशिक्षक टिटेका स्टाफहरुमा बाहिरिन सक्छन्। साथै भेट्रान खेलाडीहरुको कतार विश्वकप २०२२मा खेल्ने समेत अनिश्चित बन्नसक्छ।
पेरुका समर्थकहरु भने ब्राजिलमाथि उपाधि दाबेदारको ट्याग हुँदाहुँदै ४४ वर्षपछि उपाधिको आशा गरेका बसेका छन्। झण्डै ३० हजार पेरुका समर्थकहरु मैदानमा उपस्थित हुने अनुमान गरिएको छ। उनीहरुले पेरुले जितको महिना बुन्नेमा आशावादी छन्।
ब्राजिलका १९९४ र २००२ का विश्वकप विजेता काफु पनि ब्राजिल दाबेदार भएको मान्छन् तर उनी उस्तै खतरा समेत देख्छन्। ‘ब्राजिल अवश्यपनि उपाधि दाबेदार हो। तर, यसको मतलब खेल नै जितिसकेको हैन्,’ उनले भने।
Shares

प्रतिक्रिया