खेल


नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

नेपालखबर
साउन २, २०८२ शुक्रबार १७:८, काठमाडौँ

महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भोलि भारतको हरियाणा जाने भएको छ। प्रतियोगिता आगामी अगस्ट ३ देखि १० सम्म भारतको हरियाणाको मोरमाजरामा हुनेछ।

सहभागी खेलाडीमा कप्तान मानमती विष्टसहित उपकप्तान जयन्ती बडु,  मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारू, सृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सञ्जु थामी रहेका छन्।

त्यस्तै, प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद् दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन्। प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरियतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो। प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुनेछन्। 

विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो। पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले आज यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे।

सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको उल्लेख गर्दै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए। 

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै पदक जितेर आउन शुभकामना दिए। त्यस्तै नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले नेपाली टोलीको तयारी राम्रो भएको बताउँदै पदक जित्नेमा आशावादी रहेको उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad