नेपाल क्रिकेट संघ (क्यान) लाई १२ घण्टाभित्र जवाफ पेस गर्न भन्दै पठाइएको पत्रमा राष्ट्रिय खेलकुद परिषद्को लेटरहेड दुरुपयोग भएको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको सम्बन्धमा टुंगो नलागेसम्म नेपाल प्रिमियर लिगसम्बन्धी कुनै पनि काम नगर्न भन्दै राखेपको लेटरहेडमा क्यानलाई प्रश्नसहित पत्र पठाइएको थियो।
उक्त पत्र राखेपले नभई खेलकुद मन्त्री तेजुलाल चौधरीले गठन गरेको कार्यदलले पठाएको र लेटरहेडको दुरुपयोग गरेको राखेप सचिवालयले जनाएको छ। राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा गठित कार्यदललाई राखेपले आफ्नो लेटरप्याड प्रयोग नगर्न र कार्यादेश (टीओआर)भित्र रहेर मात्रै काम गर्न भनेको छ।
यस्तै कार्यदललाई परिषदमाथि प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देशन गरेको मंगलबार सचिवालयले जानकारी दिएको छ।
गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ फागुनमा उजुरी गरेको छ। अख्तियारमा उजुरी परेकै विषयमा छानविन गर्न खेलकुद मन्त्री चौधरीले पनि २०८२ जेठ ११ गते छुट्टै कार्यदल गठन गरेका छन्।
उक्त कार्यदलले क्यानलाई विभिन्न विषयमा जवाफ माग गरेको थियो। क्यानले ती विषयमा जवाफ पठाए पनि चित्त बुझ्दो नआएको र झारा टार्ने खालको मात्रै आएको भन्दै आइतबार अर्को पत्र पठाएको थियो।
तर उक्त पत्रको वैधानिकतामा नै प्रश्न उठेको हो। यसअघि क्यानलाई कार्यदलले ८ वटा प्रश्नको जवाफ माग गरेको थियो। कार्यदलले जेठ २६ गते पठाएको पत्रको जवाफ चित्त बुझ्दो नआएको भन्दै आइतबार अख्तियारमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न सकिने गरी १२ घण्टाभित्रमा विवरण पठाउन आइतबार अर्को पत्र पठाएको छ।
उजुरीका सम्बन्धमा अख्तियारबाट छानविन सम्पन्न नहुँदासम्म एनपीएल सम्बन्धी कुनै कार्य नगर्न निर्देशन दिएको छ। सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को प्रतिकुल हुने गरी एनपीएलको पहिलो संस्करणको प्रसारणसम्बन्धी कार्य गरेको र स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था सिर्जना गरेको क्यानमाथि आरोप छ।
यो अधिकार कसले दियो भन्दै कार्यदलले क्यानलाई प्रश्न गरेको छ। यस्तै विदेशी परामर्शदाता छनोट, एनपीएल प्रसारणमा स्वदेशी प्रसारणकर्तालाई प्रतिस्पर्धामा आउन रोकिएको विषयमा पनि कार्यदलले प्रश्न गरेको छ। एनपीएलका विषयमा उठेका प्रश्नको स्पष्ट जवाफ दिन निर्देशन दिँदै नभए कारबाही गर्ने चेतावनी पनि कार्यदलले उक्त पत्रमा दिएको छ।
तर कार्यदलले उक्त पत्र पठाउँदा नै कार्यक्षेत्र नाघेको र लेटरहेड दुरुपयोग गरेको राखेपले जनाएको छ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ मन्त्रीले बनाएको कार्यदलप्रति असन्तुष्ट छन्।
Shares

प्रतिक्रिया