खेल


भुटानलाई २९८ रनले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

भुटानलाई २९८ रनले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपालखबर
असार १७, २०८२ मंगलबार १३:५१, काठमाडौँ

विपिन प्रसाद शर्माको घातक बलिङ र रौनक श्रीवास्तवको विस्फोटक ब्याटिङमा नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। 

प्रतियोगितामा अपराजित नेपालले ४ खेलबाट ८ अङ्क जोड्दै समूह विजेता बनेको हो। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाली युवा टोलीले समूह चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको फराकिलो जित निकालेको हो। 

नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदा अलआउट भयो। 

भुटानलाई सस्तैमा रोक्न विपिनले चार विकेट लिए। विपिनले आफ्नो स्पेलमा ६ ओभर मेडन राख्दै चार विकेट लिँदा मात्र ७ रन दिए। 

सचिन भट्टले सात ओभरमा ५ ओभर मेडन राख्दै १३ रन दिएर २ विकेट लिए। सुयोग भट्टराईले ५ ओभरमा १ मेडन राख्दै १२ रन दिएर १ विकेट आफ्नो नाममा गरे। 

भुटानका लागि शेजाङ दावाले बनाएको १४ रन नै सर्वाधिक रह्यो। ओपनर उग्यान केल्जाङ चोपेलले १० रन थपे। अन्यले दोहोरो अङ्कको स्कोर छुन सकेनन्। नेपालले २२ रन अतिरिक्त रन दिएको थियो। 

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको थियो। 

पाँचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको हो। 

नेपालका लागि रौनकले १ सय ६८ रनको महत्त्वपूर्ण योगदान दिए। उमेर समूहमा रौनकले बनाएको यो नेपालको व्यक्तिगत सर्वाधिक स्कोर हो। 

उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे। 

जय थापा ६१ रनमा नटआउट रहे। उनले ६७ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा नटआउट रहे। 

विकेटकिपर श्रीवांस बजगाई ५४ रनमा रन आउट भए। सुगम बुढाथोकीले ३५ रन थपे। 

ओपनर परिमार्जन याद २ र प्रसिद्ध जैसी ७ रनमा पेभेलियन फर्किए।  

भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए। तेन्जिङ जाम्त्सोले एक विकेट आफ्नो नाममा गरे।

नेपाल रहेको समूहबाट उपविजेता बन्दै सिंगापुर पनि सेमिफाइनलमा पुगेको छ। अर्को समूहबाट हङकङ विजेता र मलेसिया उपविजेता बनेका छन्। 

फाइनल प्रवेशका लागि अब नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर भिड्नेछन्। 

दुवै सेमिफाइनल बिहीबार हुनेछन्। तेस्रो स्थानको खेल र फाइनल शनिबार हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad