खेल


उज्वेकिस्तानमा सफल भए महिला टोलीलाई खुल्नेछ विश्वकप र ओलम्पिक छनोटको ढोका

उज्वेकिस्तानमा सफल भए महिला टोलीलाई खुल्नेछ विश्वकप र ओलम्पिक छनोटको ढोका

लक्ष्मी जि.सी
असार ११, २०८२ बुधबार ७:५८, काठमाडौँ

जब उज्वेकिस्तानको मैदानमा सिठी बज्नेछ, नेपाली राष्ट्रिय महिला फुटबल टोलीको लागि त्यो केवल अर्को खेल होइन-त्यो भविष्यको कठिन परीक्षाको समय हुनेछ। 

एसियन कप २०२६ को छनोट खेलमार्फत नेपालले पहिलोपटक ठूला अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति देखाउने अवसर पाएको छ। तर यो अवसरसँगै एक ठूलो चुनौती पनि  छ।

उज्वेकिस्तानको गर्मी मैदान र तीव्र प्रतिस्पर्धी टोलीहरूसँग जुध्नु मात्र लक्ष्य होइन-यो त फिफा महिला विश्वकप २०२७ र ओलम्पिक छनोटको दिशातर्फको पहिलो कदम पनि हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशकौंदेखि बनाउँदै आएको दीर्घकालीन योजना अहिलेको यो छनोट अभियानमै निर्भर देखिन्छ।

एसियन कप छनोटको लागि उज्वेकिस्तानमा हुँदै गरेको प्रतियोगितामा नेपालले समूह ‘एफ’ अन्तर्गत तीन खेल खेल्नेछ। नेपालको प्रतिस्पर्धा घरेलु टोली उज्वेकिस्तानसहित लाओस र श्रीलंकासँग हुनेछ।

नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दै छनोट यात्रा सुरु गर्दैछ। असार १८ गते नेपालले समूह चरणको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ।

च्याम्पियनसिपका लागि नेपाली टोली पूर्ण रूपमा तयार रहेको टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बताएकी छन्। उनले विदेशी प्रशिक्षकसँग पर्याप्त समय नपाएको महसुस भएको बताउँदै भनिन्, 'प्रशिक्षकले सधैँ हामीलाई मोटिभेट गरिरहनुहुन्छ। अहिले प्रशिक्षण राम्रो भइरहेको छ। यो प्रतियोगिता हाम्रो लागि निकै महत्वपूर्ण छ, त्यसैले पहिलो खेलदेखि नै तयारीसाथ जानुपर्छ।'

सावित्राले अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता औँल्याउँदै थपिन्, 'हामीले राम्रो नतिजा दिनु नै मुख्य कुरा हो। एक सय खेल भनेको महिला फुटबलमा धेरै होइन। यदि अन्तर्राष्ट्रिय एक्सपोजर अझै पाइयो भने, हामी पाँच सय खेलसम्म पनि खेल्न सक्छौँ।'

एसियन कप छनोटको पहिलो खेल नेपाली महिला फुटबल टोलीका लागि विशेष हुनेछ। लाओसविरुद्धको खेल नेपालको एक सयौँ अन्तर्राष्ट्रिय खेल हुनेछ। सन् १९८६ मा हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपालले चार दशकपछि बल्ल एक सय खेलको कोशेढुङ्गा पार गर्न लागेको हो।

छनोट खेलका लागि घोषणा गरिएको टोलीमा प्रतिक्षा चौधरी नयाँ अनुहारका रूपमा देखिएकी छन्। उमेर समूह हुँदै राष्ट्रिय टोलीमा आएकी प्रतिक्षा, घरेलु प्रतियोगितामा एपीएफ क्लबको जर्सीमा प्रभावशाली प्रदर्शन गर्दै आएकी खेलाडी हुन्।

प्रतिक्षाले भनिन्, 'पहिलो पटक सिनियर टोलीबाट एसियन कप खेल्न लागेको छु खुसी लागेको छ। अवसर पाएँ भने आफूलाई प्रमाणित गर्नेछु। सिनियर दिदिहरूसँग खेल्दा केही गाह्रो हुने रहेछ तर, आफूले सकेको कोशिस गर्नेछु।'

टोलीकी मिडफिल्डर अनिता बस्नेतले एसियन कप छनोटका लागि आफूहरू तयार रहेको बताइन्। उनले भनिन्, 'हामी सधै अन्तिम समयमा गएर चुक्ने गरेका थियौँ। अन्तिम खेल उज्वेकिस्तानसँग छ त्यसैले अगाडिको दुई खेलमा जित निकालेर आत्मविश्वासी भएर अघि बढ्नेछौँ।'  

अनिता बस्नेतले नेपालको एक सयौँ अन्तर्राष्ट्रिय खेललाई नतिजासँग जोडिन्। उनले भनिन्, 'एक सय खेलको आँकडा पार गर्दै गर्दा जितका लागि नै मेहनत गर्नेछौं।' टोलीमा अनुभवसहितको भूमिकामा रहेकी अनिताले यो ऐतिहासिक क्षणलाई सकारात्मक नतिजासँग सम्झन योग्य बनाउनुपर्ने आवश्यकता औंल्याइन्।

यदि नेपालले समूह 'एफ' को विजेता बन्न सफल भयो भने, सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ। यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ।

अहिलेसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।

यदि नेपाल यस पटक एसियन कपमा छनोट हुन असफल भयो भने, फिफा महिला विश्वकप २०२७ र ओलम्पिक छनोटका लागि पनि ढोका बन्द हुने सम्भावना छ। त्यसैले यस पटकको एसियन कप छनोट नेपाली महिला टोलीका लागि अवसरसँगै गम्भीर चुनौती पनि हो।

टोलीकी गोलरक्षक अञ्जना रानामगरले विदेशी प्रशिक्षक आएपछि खेलमा नयाँ सोच र शैली देखिएको बताइन्।  

नेपालको सयौँ खेलमा सहभागी हुन पाउँदा गौरव लागेको उल्लेख गर्दै अञ्जनाले थपिन्,'एक सय खेल पुग्यो भनेर सुन्दा निकै गर्व लाग्छ। पहिलाका दिदीबहिनीहरूले धेरै खेल्न पाउनु भएको थिएन, अहिले भने खेलको संख्या बढ्दो छ। त्यसैले राम्रो भइरहेको छ।'

समूह चरणमा नेपालले कडा चुनौतीको सामना गर्नुपर्नेछ। घरेलु टोली उज्वेकिस्तान र लाओस नेपालका लागि कठिन प्रतिस्पर्धी मानिन्छन्। उज्वेकिस्तानसँग नेपाल अहिलेसम्म तीनपटक भिड्दा सबै खेलमा हार बेहोरेको छ। श्रीलंकासँग भने आठ खेल खेल्दा सबैमा नेपाल विजयी भएको छ। लाओससँग भने नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad