खेल


१००औँ अन्तर्राष्ट्रिय खेलको कोसेढुंगानजिक नेपाली महिला फुटबल

९९ खेल, ४६ जित, १६ बराबरी र ३७ हार : यस्तो छ, चार दशकको यात्रा

लक्ष्मी जि.सी
जेठ २८ , काठमाडौँ

नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा एउटा कोसेढुंगा पार गर्दै छ। 

लाओसविरुद्ध असार १५ मा एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले १ सयौँ खेलको कोसेढुंगा पार गर्ने भएको हो। 

यही खेलबाट महिला फुटबल टोलीको एसियन कप छनोट यात्रा सुरु हुनेछ। समूह ‘एफ’मा रहेको नेपालले त्यसपछि १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानविरुद्ध खेल्नेछ।

नेपाली महिला फुटबलले सन् १९८६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो। सन् २०२५ सम्म आइपुग्दा २६ वटा देशसँग खेलिसकेको छ। 

यी देशहरुसँग ९९ खेल खेलेको नेपालले ४६ मा जित, १६ मा बराबरी र ३७ खेलमा हार भोगेको छ। तिनमा १ सय ६८ गोल गर्दा २ सय २५ गोल खाएको छ।

धेरै खेल भारतसँग, श्रीलंका र माल्दिभ्ससँग शतप्रतिशत नतिजा
नेपालले अहिलेसम्म भारतसँग सर्वाधिक धेरै १८ पटक खेलेको छ। सन् २०१० मा नेपाल र भारतबीच पहिलो खेल भएको थियो। १८ भेटमा नेपालले २ खेलमा जित, ५ खेलमा बराबरी र ११ खेलमा हार भोगेको छ। 

नेपालले भारतविरुद्ध निकालेको दुवै जित सन् २०२२ र २०२४ को साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा हो। 

त्यसपछि बंगलादेशसँग नेपालको १३ पटक मैदानमा भेट भएको छ। जुन भारतपछिको सर्वाधिक खेल हो। 

सन् २०१० मा नेपाल र बंगलादेशबीच पहिलो खेल भएको थियो। हालसम्मको भेटमा बंगलादेशविरुद्ध ६ वटामा जित, ५ वटामा बराबरी र २ खेलमा हार भोगेको छ। 

यी दुवै हार नेपालले सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा भोगेको हो। 

यस्तै, नेपाल र श्रीलंकाबीच अहिलेसम्म ८ पटक भेट भएको छ। यी ८ भेटमा नै नेपालले जित निकालेको छ। नेपाल र श्रीलंकाले सन् २०१० मा पहिलो पटक खेलेका थिए।

माल्दिभ्स र म्यानमारसँग पनि नेपालले ६ पटक खेलेको छ। यी ६ खेलमा नै नेपालले माल्दिभ्सलाई हराएको छ। नेपाल र माल्दिभ्सको पहिलो भेट सन् २०१० मा भएको थियो।

म्यान्मारसँग भने नेपालको भेट सन् २०१८ देखि हुनथालेको हो। म्यान्मारसँगको ६ खेलमा नेपालले दुई खेलमा बराबरी गर्दा ४ खेलमा हार भोगेको छ।

यता भुटानसँग नेपालको पहिलो भेट सन् २०१४ मा भएको थियो। हालसम्म ५ पटक भएको खेलमा नेपाल हावी हुने गरेको छ। चार खेलमा नेपालले जित निकाल्दा १ खेल बराबरीमा सकिएको छ।

यता थाइल्यान्ड र पाकिस्तानसँग नेपालको भेट चार पटक भएको छ। सन् १९८६ मा थाइल्यान्डसँग नेपालको पहिलो भेट भएको थियो। अहिलेसम्मको चार भेटमा नै नेपाल थाइ टोलीसँग पराजित भएको छ।

पाकिस्तानसँग भने नेपालको पहिलो भेट सन् २०१० मा भएको थियो। त्यसयताका चार भेटमा नै नेपालले बाजी मारेको छ। 

यसबाहेक नेपालले इन्डोनेसिया, हङकङ, जापान, मलेसिया, उज्वेकिस्तान र भियतनामसँग ३/३ पटक खेलेको छ। 

यीमध्ये हङकङ, इन्डोनेसिया, थाइल्यान्डसँग सन् १९८६ मा, जापानसँग सन् १९८९, उज्वेकिस्तान र फिलिपिन्ससँग सन् १९९९ मा नेपालले पहिलो खेल खेलेको थियो। 

सन् २०१० मा अफगानिस्तान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान, श्रीलंकासँग पहिलो खेल खेलेको नेपालले सन् २०१९ मा इरान, २०२४ मा इराक र जोर्डन, २०१३ मा कुवेत र सन् २०१९ मा किर्गिस्तानसँग पहिलोपटक खेलेको थियो। 

त्यसैगरी लेबनान र प्यालेस्टाइनसँग सन् २०२४, मलेसियासँग २०१६, कतारसँग सन् २०१३, सिरियासँग सन् २०२४ र  ताजकिस्तानसँग सन् २०१९ र भियतनामसँग सन् २०२३ मा नेपालको पहिलो भेट भएको थियो।

टिम बनेको ६ वर्षमा अन्तर्राष्ट्रिय ‘डेब्यु’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले टिम बनेको ६ वर्षपछि मात्र अन्तर्राष्ट्रिय डेब्यु गरेको हो। सन् १९८० मा पहिलोपटक राष्ट्रिय टोली बनाइएको थियो। 

त्यसपछि सन् १९८६ मा आएर बल्ल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले सहभागिता जनाएको थियो। सन् १९८६ को १४ डिसेम्बरमा एएफसी महिला च्याम्पियनसिपअन्तर्गत भएको हङकङविरुद्धको खेल नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल थियो।  

सो खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको थियो। 

नेपालले सन् १९८६, १९८९ र १९९९ मा एसिया कप खेलेको थियो। ती सबै प्रतियोगितामा नेपाल समूह चरणमै सीमित भयो। 

ती तीनै प्रतियोगितामा नेपालले थाइल्यान्ड, हङकङ र इन्डोनेसियालाई प्रतिद्वन्द्वी पाएको थियो। 

सन् १९८९ मा भने थाइल्यान्डको स्थानमा जापान नेपालको समूह चरणमा परेको थियो। सबै खेलमा नेपालले फराकिलो हार व्यहोर्‍यो।

हङकङविरुद्ध मात्र नेपालले ३–० को हार भोगेको थियो। जुन हार सबैभन्दा कम गोल खाएको खेल हो। 

त्यसअघि सन् १९८५ मा तत्कालीन एन्फा अध्यक्ष कमल थापाले बागमती टिम बनाएका थिए। थापाले बागमती, गण्डकी र नारायणीको टोली बनाएर खेल खेलाउँथे। बागमती टोलीको कप्तानी नेपालको पहिलो कप्तान रमा सिंहले गरेकी  थिइन्।

नेपाली महिला फुटबल टोलीको दोस्रो कप्तान कमला हिराचनले त्यतिबेला गण्डकीको टोलीको प्रतिनिधित्व गर्थिन्। तेस्रो कप्तान मिरा चौधरी नारायणी टोलीको कप्तानी सम्हाल्थिन्।

सन् १९९९ मा भएको महिला एसियन कपमा नेपालले जापान, थाइल्यान्ड, उज्वेकिस्तान र फिलिपिन्सविरुद्धको चार खेलमा नै हार भोगेको थियो। 

लगातारको हारपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नै जनाउन छोड्यो। 

सन् २००९ मा टोलीको पुनर्संरचनापछि नेपालले सन् २०१० मा दक्षिण एसियाली खेलकुदमा भाग लिएको थियो। त्यसमा नेपाल फाइनलमा पुग्न सकेको थियो। तर भारतसँग ३–१ ले पराजित भएको थियो।

सन् २०१० को दक्षिण एसियाली खेलकुदमा नेपालले श्रीलंकालाई ८–० ले हराएको थियो भने साफ महिला च्याम्पियनसिपमा अफगानिस्तानलाई १३–०, पाकिस्तानलाई ११–० ले हराएको थियो।

नेपालले सन् १८८६, १९८९, १९९९ र २०२२ मा एएफसी महिला एसियन कप छनोट खेलेको थियो। 

सन् २०१० पछि नेपालले १२ वटा ठूला प्रतियोगिताको फाइनल खेलेको छ। तर उपाधि जित्न भने सकेको छैन। स्थायी उपविजेताको छवि बनाएको नेपालले साफमा मात्र छैटौँ पटक उपाधिका लागि प्रतिस्पर्धा गरिसकेको छ। 

नेपालले सन् २०१०, २०१२, २०१४, २०१६, २०१९, २०२२ र २०२४ मा साफ च्याम्पियनसिप फाइनल खेलेको छ। यी सबैमा नेपाल उपविजेता बनेको छ। 

यस्तै सन् २०१०, २०१६ र २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग) फाइनलमा पनि नेपाल उपविजेतामै सीमित भएको छ। 

यसबाहेक सन् २०१८ को हिरो गोल्डकप, २०१९ को नादेझ्दा कप र सन् २०२४ मा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा पनि नेपालको यात्रा उपविजेतामै टुंगिनपुगेको छ।

पहिलो गोलदेखि सर्वाधिक गोलको कीर्तिमानसम्म
उपाधिको खडेरीका बाबजुद नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) नेपालकी मात्र नभई दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बन्न सफल भएकी छिन्। 

साम्बाको नाममा ५८ अन्तर्राष्ट्रिय खेलमा ५७ गोल छ। नियमित प्रतियोगिता हुने हो भने उनको यो आँकडालाई भेट्न अबका फरवार्डलाई पनि मुस्किल पर्ने देखिन्छ। 

सन् २०१४ मा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। डेब्यु खेलमा नै गोल गरेकी उनी मैदानमा गोल गर्न सधैँ आतुर देखिन्छिन्। चोटका कारण करिब डेढ वर्ष मैदानबाहिर रहेकी साम्बा पुनरागमनपछि पनि पुरानै लयमा छिन्। 

नेपालले भारतलाई हराउँदा होस् वा ओलम्पिक छनोटमा इन्डोनेसियालाई हराउँदा साम्बाले नै गोल गरेकी थिइन्। 

साम्बाले सन् २०१९ मा भएको १३औँ सागका दौरान पूर्वकप्तान अनु लामाको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेकी थिइन्। अनुले सन् २०१६ मा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा ३५औँ अन्तराष्ट्रिय गोल गरेकी थिइन्। 

त्यसअघि जमुना गुरुङको नाममा रहेको २५ गोलको कीर्तिमानलाई अनुले तोडेकी थिइन्। 

सन् २०१० को साफमा माल्दिभ्ससँग डेब्यु खेलमा नै अनुले ह्याट्रिक गरेकी थिइन्। महिला फुटबलमा ह्याट्रिक गर्ने अनु पहिलो खेलाडी समेत हुन्। डेब्यु खेलमा नै ह्याट्रिक गरेपछि उत्साहित बनेकी अनु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बनेकी थिइन्।

अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको १३ वर्षपछि नेपालले विपक्षी पोष्टमा गोल गर्न सफल भएको थियो। 

साम्बा र पेमा

नेपालका लागि पेमा डोल्मा लामाले सन् १९९९ मा फिलिपिन्समा भएको एएफसी महिला च्याम्पिनसिपमा उज्वेकिस्तानविरुद्ध नेपालका लागि पहिलो गोल गरेकी थिइन्।

नेपाली राष्ट्रिय महिला टोलीको पहिलो कप्तान रमा सिंह हुन्। 

नेपालले सन् १९८६ मा हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा सिंहले कप्तानी गरेकी थिइन्। त्यसयता नेपालले १० जना कप्तान पाएको छ। 

अहिलेसम्म सबैभन्दा लामो समय नेपालकी गोलरक्षक अञ्जिलाले कप्तानी सम्हालेकी छिन्। 

नाम कप्तानी सम्हालेको वर्ष (सन्)
रमा सिंह १९८६ देखि ०८७ सम्म
कमला हिराचन १९९०
मिरा चौधरी १९९९
जमुना गुरुङ २०१० देखि २०१२ सम्म
चन्द्रा भण्डारी २०१३
अनु लामा २०१४ देखि २०१६ सम्म
सजना राना मगर २०१७
रेनुका नगरकोटे २०१७
निरु थापा २०१८
अञ्जिला तुम्बाप्पो सुब्बा २०१९ देखि हालसम्म
जेठ २७, २०८२ मंगलबार ८:५८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad