लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मंगलबार बिहान हार्ड रक स्टेडियममा फिफा क्लब विश्वकपमा इतिहास रच्न सफल भएको छ।
ब्राजिलको पाल्मिराससँग २–२ को बराबरी खेलेपछि क्लब विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो एमएलएस क्लब बनेको हो।
२०२५ फिफा क्लब विश्वकपमा समूह ए मा दोस्रो स्थान हासिल गरेसँगै इन्टर मियामीले आइतबार एटलान्टा युनाइटेडको मर्सिडिज–बेन्ज स्टेडियममा अन्तिम १६ मा फ्रान्सेली पावरहाउस पेरिस सेन्ट–जर्मेनको सामना गर्नेछ। पीएसजी साविक च्याम्पियन्स लिग विजेता टोली हो।
पीएसजीसँगको भेट पक्का गर्नु पहिले मियामीले २–० को अग्रता लिएको थियो। तादेओ एलेन्डे र लुइस सुआरेजको गोलमा बनाएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा पीएसजीको सामना गर्नु परेको हो।
खेलको १६ औँ मिनेटमा सुवारेजको पासमा एलेन्डेले मियामीलाई अग्रता दिलाएका थिए। ६५ औँ मिनेटमा ब्राजिलियन टोलीलाई २–० ले पछि पारेको थियो।
तर दोस्रोहाफमा आक्रामक बनेको पाल्मिरास ८० औँ मिनेटमा पाउलिन्होको गोलमा खेलमा फर्किने संकेत गर्यो। त्यसको ७ मिनेटपछि मौरिसिओले गोल थप्दा समूहको शीर्ष स्थानमा पुग्यो।
समूह ए को उपविजेता बनेसँगै इन्टर मियामीले समूह बी को विजेता पीएसजीसँग नकआउटमा खेल्ने भएको हो।मेस्सी यसअघि पीएसजीमा सम्झौता सकिएपछि मियामीमा आवद्ध भएका हुन्। अब उनी आफ्नै पूर्व क्लबविरुद्ध मैदान उत्रिनेछन्।
Shares

प्रतिक्रिया