म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ। समूह जी को दोस्रो खेलमा सिटीले अल-इनमाथि ६-० को फराकिलो जित हात पार्दै प्रि-क्वार्टरफाइनलमा सहजै स्थान बनाएको हो।
पहिलो हाफको आठौँ मिनेटमा इल्के गुन्डोगनको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। २७ औँ मिनेटमा क्लाउडियो इचेभेरीको गोलमा सिटीले अग्रता दोब्बर पार्यो। पहिलो हाफको इन्ज्युरी समयमा एर्लिङ हालान्डको गोलमा सिटीले पहिलो हाफमा नै ३-० को आरामदायी अग्रता बनाएको थियो।
खेलको ७३ औँ मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीका लागि चौथो गोल गरे। ८४ औँ मिनेटमा वैकल्पिक खेलाडी ओस्कर बबले गोल गरे। रायन चेर्कीले ८९ औँ मिनेटमा गोल गर्दा सिटीले ६-० को फराकिलो जित दर्ता गरेको हो।
सिटीले अब समूह विजेता बन्न युभेन्ट्सलाई हराउनुपर्नेछ। गएराति नै भएको अर्को खेलमा युभेन्टसले मोरक्कोन क्लब वायडाडलाई ४-१ ले हराएको छ।
लगातार दोस्रो खेलमा जित हात पार्दै ६ अंक बटुलेका युभेन्ट्स शीर्ष र सिटी दोस्रो स्थानमा छन्। बिहीबार हुने खेलले समूह जी को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
समूह एचको खेलमा रियल मड्रिडले पाचुकालाई ३-१ ले हराएको छ। समूह एचकै अर्को खेलमा रेड बुद साल्जवर्गले अल-हिलाललाई गोलरहित बराबरीमा रोकिएको छ। समूह इ को खेलमा रिभर प्लेटले मोन्टेरीलाई गोलरहित बराबरीमा नै रोकेको छ।
Shares

प्रतिक्रिया