खेल


‘डेब्यु’ खेलमै ३ विकेट लिएका नन्दन भन्छन्– यो ठाउँ पाउन मैले धेरै मिहिनेत गरेको थिएँ

‘डेब्यु’ खेलमै ३ विकेट लिएका नन्दन भन्छन्– यो ठाउँ पाउन मैले धेरै मिहिनेत गरेको थिएँ

नेपालखबर
जेठ २८, २०८२ बुधबार १४:४५, काठमाडौँ

तीव्र गतिका बलर नन्दन यादवका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ‘डेब्यु’ खेल अविस्मरणीय रह्यो।

स्कटल्यान्डमा भएको आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध ‘डेब्यु’ गरेका उनले ३ विकेट आफ्नो नाममा गरे। 

९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ३९ रन खर्चे। उनको इकोनोमी ४.३३ रह्यो। 

नन्दनले चौथो ओभरको दोस्रो बलमा म्याक्स ओ डाउडलाई ललित राजवंशीको हातबाट क्याचआउट गराउँदै ‘डेब्यु’ विकेट लिएका थिए। 

४७ ओभरको दोस्रो बलमा नै नन्दनले रोइलोफ भान डेर मेर्वेलाई भीम सार्कीको हातबाट क्याचआउट गराए। सोही ओभरको अन्तिम बलमा

उनले काइल क्लेनलाई कप्तान रोहित पौडेलको हातबाट क्याचआउट नै गराउँदै पहिलो खेलमै तीन विकेट लिन सफल भए।  

राष्ट्रिय टिमबाट खेल्नका लागि नै नन्दनले अस्ट्रेलिया छाडेर नेपाल आएका थिए। 

‘भविष्यमा राष्ट्रिय टोलीमा आफ्नो पोजिसनभन्दा पनि टोलीका लागि के गर्न सक्छु भन्ने हो’, नेदरल्यान्ड्ससँगको खेलपछि उनले भने, ‘जसरी सोमपाल कामी (दाइ), पारस खड्का (दाइ) र ज्ञानेन्द्र मल्ल (दाइ)ले राम्रो गर्नुभयो। मेरो पनि त्यही गर्ने चाहना हो, त्यसैले अस्टे«ेलिया नगई बसेको हो।’ 

एक समय नन्दन नेपाल छाडेर अस्टे«लियाका लागि उड्दै थिए। उनलाई एयरपोर्टबाट नै उनको परिवार र दाइहरूले फर्काएका थिए। 

उनी भन्छन्, ‘त्यो क्षण गइसक्यो तर पनि सम्झनामा आइरहन्छ, मेरो परिवार र दाइहरूले मलाई ब्याक गर्नुभएको थियो। म डेब्यु गर्दा पनि त्यही सम्झिरहेको थिएँ।’ 

त्यो राम्रो भएको बताउँदै उनी अब अगाडि पनि राम्रै हुने विश्वास गर्छन्। 

स्कटल्यान्ड भ्रमणका क्रममा नेपालले चारमध्ये तीन खेलमा जित दर्ता गर्दै ६ अंक बटुल्यो। भ्रमणअघि अंक तालिकाको पुछारमा रहेको नेपाल फर्किँदा १२ अंकसहित सातौँ स्थानमा छ।

‘राम्रो गर्छु भन्ने सोचेको थिएँ, झन् राम्रो भयो। हामीले ६ अंक लिएर जाँदै छौँ। त्यो एकदम राम्रो हो’, उनले भने, ‘हामीले ८ अंक पनि लिएर जान सक्थ्यौँ। तर त्यस्तो भएन। ६ अंक पनि राम्रो हो, अब अगाडि पनि राम्रो गर्नेछौँ।’ 

तीव्र गतिका बलर सोमपाल कामी र गुल्सन झाले प्रशिक्षणका क्रममा चोट बोकेपछि अन्तिम खेल गुमाएका थिए। सोमपाल, गुल्सन र आसिफ टोलीबाहिर रहँदा अनिल शाह, बसिर अहमद टिममा परे। नन्दनले ‘डेब्यु’ गर्ने मौका पाए। 

ओडीआईमा नेपालबाट ‘डेब्यु’ गर्ने नन्दन ४२औँ खेलाडी हुन्। नन्दनलाई सहायक प्रशिक्षक तथा नेपाली टोेलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ‘डेब्यु क्याप’ दिएका थिए। 

अनुभवी सोमपाल र गुल्सन नहुँदा पनि आफूले खासै दबाब महसुस नगरेको नन्दन सुनाउँछन्। 

उनले भने, ‘यो ठाउँ पाउन मैले धेरै मिहिनेत गरेको थिएँ। सोमपाल र गुल्सन दाइको चोटका लागि दुःख लागेको छ तर हामीले जित्दा उहाँहरू खुसी हुनुहुन्छ।’ 

‘डेब्यु’ खेलमा पहिलो विकेट लिँदा नन्दनको ‘सेलिब्रेसन’ हेर्नलायक थियो। 

‘तपाईंहरूलाई थाहै छ, डेब्युमा विकेट लिन पाउँदा कति खुसी पाइन्छ भनेर। त्यही कारण सेलिब्रेसन राम्रो गरेँ होला’, उनले थपे।  

४७औँ ओभरमा लगातार दुई विकेट गुमाएपछि डच टोली दबाबमा आएको थियो। 

नेपाललाई पछिल्ला २ विकेट चाहिएको थियो। विकेट नआएको भए गाह्रो हुने उनको भनाइ छ। 

‘डट बल फाल्ने सोचेको थिएँ। विकेट आयो खुसी लाग्यो’, उनले भने।  

स्कटल्यान्डमा नेपालले हाइ स्कोरिङ म्याच खेलिरहेको थियो। नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराउँदा २ सय ९६ रनको लक्ष्य भेट्टाएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध ५ विकेटको जित निकाल्दा २ सय २६ रनको लक्ष्य भेटेको थियो। 

तेस्रो खेलमा ३ सय २४ रनको विशाल लक्ष्य पछ्याउँदा नेपालले ३ सय २१ रन बनाएको थियो। जुन ओडीआईमा नेपालले बनाएको सर्वाधिक रन थियो। तर सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससामु २ सय ३६ रनको योगफल तयार पारेको थियो।

‘हामीले पहिला ब्याटिङ गर्दा गाह्रो थियो, रन बनाउँदा २२० रन कसरी बनाउने भन्ने थियो’, उनले भने, ‘पछि भयो पनि त्यही, गल्तीले हाम्रो १० रन माइनस भयो। पछि १० रन हामीले एक्स्ट्रा नै सम्झेर खेलेका थियौँ।’ 

अघिल्लो खेलभन्दा नेदरल्यान्ड्ससँगको खेलमा स्पिनरलाई सहयोगी पिच थियो। विकेट स्लो भएकाले स्पिनरले राम्रो गरेको उनको भनाइ छ।

‘रन गएको थिएन। त्यसैले डेथ ओभरमा हामीलाई सहयोग भयो’, उनले भने। 

स्कटल्यान्ड भ्रमणअघि टोली ८ अंकका लागि नै गएको तर केही गल्तीवश ६ अंक बटुल्न सफल भएको नन्दन सुनाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad