पाराग्वेलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।
बुधबार बिहान भएको समूह चरणको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फिफा विश्वकपका लागि छनोट भएको हो।
फिफा विश्वकपको हरेक संस्करणमा छनोट हुने ब्राजिल एक्लो टोली हो। ब्राजिल सन् १९३० देखिका हरेक संस्करणमा फिफा विश्वकपमा छनोट हुँदै आएको छ।
पहिलो हाफको ४४ औँ मिनेटमा भिनिसियस जुनियरको निर्णायक गोलमा ब्राजिलले विश्वकप यात्रा तय गरेको हो। भिनिसियसले म्याथु चुन्हाको पासमा गोल गरेका थिए।
कार्लो एसेन्लोटीले ब्राजिलको टोली सम्हालेपछि यो पहिलो जित हो। यसअघि प्रशिक्षक एसेन्लोटीले टोली सम्हालेपछि इक्वाडरसँगको डेब्यु खेल गोलरहित बराबरीमा सकिएको थयो।
विश्वकपमा छनोट भएपछि भिनिसियसले भने, ‘हामीलाई विश्वकपमा छनोट हुनु थियो। अब प्रशिक्षकलाई काम गर्न धेरै समय छ, अवश्य पनि आज हामीले राम्रो गर्न सकेनौँ, तर महत्वपूर्ण भनेको हामीले सधैै जित्नु हो।’
त्यस्तै पेरुसँग गोलरहित बराबरी खेलेको इक्वेडरले पनि विश्वकपमा स्थान बनाएको छ। विश्वकपमा छनोट हुने इक्वेडर १३ औँ टोली हो। फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रले भाग लिनेछन्। अब ३५ राष्ट्रले स्थान बनाउन बाँकी छ।
साविक विश्वविजेता अर्जेन्टिनाले भने कोलोम्बियासँग १–१ को बराबरी खेलेको छ। उरुग्वेले भने भेनेजुयलालाई २–० ले पराजित गरेको छ।
Shares

प्रतिक्रिया