दिल्लीका गल्लीहरूमा हुर्किरहँदा पूजा महतोको एउटै सपना थियो– भोलि नेपाल फर्किएर सेना या प्रहरी बन्ने। एक दिन ड्याडीले पूजालाई भने– ‘ठूलो भएर के बन्छौ, एउटा निबन्ध लेख त।’
त्यतिबेला उनले लेखेको निबन्धको शीर्षक थियो– ‘मेरो देश, मेरो प्रेम।’ जहाँ उनले ठूलो भएपछि सेना वा प्रहरी बनेर देशको सेवा गर्ने लक्ष्य रहेको लेखेकी थिइन्।
महोत्तरी, गौशालाकी पूजाको सिंगो परिवार दिल्लीमै थियो। उनका ड्याडीले चिया पसलमा काम गरेर उनीसहित दुई छोरी र एक छोरा हुर्काइरहेका थिए। टीभी हेर्ने बेला घरमा ममी–ड्याडीबीच सधैँ लडाइँ हुन्थ्यो। ड्याडी क्रिकेटको ठूलो फ्यान, ममी सिरियलको। पूजा पनि ममीसँगै सिरियल नै हेर्थिन्, क्रिकेटमा रुचि थिएन।
तर ममी घरमा नभएका बेला रिमोट ड्याडीको हात हुन्थ्यो, स्क्रिनमा क्रिकेट नदेखिने कुरै भएन। ‘पढ्न नपरोस्’ भनेर पूजा पनि बेलाबेला ड्याडीसँग क्रिकेट हेर्थिन्। यद्यपि, क्रिकेटर बन्ने रहर रत्तिभर थिएन।
तर, सन् २०२० मा कोभिड–१९ का कारण जब लकडाउन भयो, त्यसपछि पूजाको जीवनको बाटो नै मोडियो। लकडाउन भएपछि उनी मोटाएकी थिइन्। घट्नुपर्ने दबाब थियो। दिल्लीमा उनी बस्ने नजिकै रोहतक रोडमा जिमखाना क्रिकेट एकेडेमी थियो। उनका भाइले त्यहाँ प्रशिक्षण सुरु गरेको दुई महिना भएको थियो। पूजालाई पनि क्रिकेट खेलेर तौल घटाउने रहर जाग्यो। तर ड्याडीलाई भनेकी थिइनन्।
क्रिकेटर इशान्त शर्मालाई प्रशिक्षण दिएका श्रवण कुमार त्यहाँका प्रशिक्षक थिए। एकदिन पूजाको ड्याडी भाइलाई एकेडेमीमा पुर्याउन जाँदा श्रवणले उनलाई भने– ‘छोरीहरूलाई पनि क्रिकेट सिकाउनुस्।’
त्यसपछि ड्याडीले दुवै छोरीलाई सोधे– ‘क्रिकेट खेल्छौ?’
दुवैले ‘हुन्छ’ भनेपछि एकैपटक दुवैको प्रशिक्षण सुरु भयो।
‘बिहान र साँझ गरेर दुई पटक क्लास हुन्थ्यो,’ नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेकी पूजा भन्छिन्, ‘श्रवण कुमारसँगै अर्को सिफ्टमा राजेश चौहान पनि कोच हुनुहुन्थ्यो। दुवैले हामीलाई क्रिकेट सिकाएको एक पैसा लिनुभएन। राम्रो खेलेका कारण उल्टै फ्रीमा किट पनि दिनुभएको थियो।’

पूजालाई लाग्छ, उनलाई क्रिकेटर बनाउन उनीभन्दा बढी उनका बाआमाले संघर्ष गरेका छन्। मान्छेहरू कुरा काट्थे– छोरीलाई क्रिकेट सिकाएर के गर्न खोजेको? न भविष्य छ, न केही। यसरी भोलि छोरीको शादी कसरी गर्छाै?’
तर, ड्याडीले अरुको कुरा सुनेनन्। ड्याडी सधैँ पूजालाई भन्थे– अब सबै अपेक्षा तिमीसँग छ, केही गरेर देखाऊ।
‘मधेसमा छोरीलाई क्रिकेटर बनाउने कुरा सजिलो थिएन,’ पूजा भन्छिन्, ‘मभन्दा पनि बढी मेरो ममीड्याडीले संघर्ष गर्नुभयो। बुबाले चिया पसलमा काम गर्नुभयो। ममीले समाजको धेरै नराम्रो टिप्पणी सुन्नुभयो। त्यसैले मेरो मनमा इख थियो, म देशको लागि खेल्छु भन्ने। त्यसैले एकेडेमीमा ट्रेनिङ लिँदा म पूरै दिन ग्राउन्डमा बस्थेँ। खाना–पानी केही नभनी अभ्यास गर्थें। दुई वर्षमा केही गर्नुपर्छ भन्ने टार्गेट थियो। त्यहीअनुसार गर्न सकेँ।’
एक दिन पूजाका भाइ अन्डर १६ टुर्नामेन्ट खेल्न ड्याडीसँग नेपाल आएका थिए। त्यहीबेला उनीहरूको क्यानको उपाध्यक्ष रोशन सिंहसँग भेट भयो।
‘भाइले मेरो दिदीहरू पनि खेल्नुहुन्छ भन्यो,’ पूजाले सम्झिइन्, ‘क्रिकेट खेलेको भिडियो क्लिपहरू देखाएपछि हामीलाई क्लोज क्याम्पका लागि बोलाइयो। बहिनीको १५ वर्ष उमेर नपुगेकाले छनोट भइन, म छनोट भएँ।’
क्वालालम्पुरमा भएको हङकङविरुद्धको खेलबाट उनले टी–२० अन्तराष्ट्रिय खेलमा डेब्यु गरिन्। त्यसपछि महिला टी–२० एसिया कप खेलिन्। नोभेम्बर २०२४ मा उनलाई २०२५ को आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि यू–१९ टोलीको कप्तान नियुक्त गरियो। नोभेम्बर १२ मा उनले कुवेतको यू–१९ महिला क्रिकेट टोलीविरुद्ध १३० रनको अविजित शतकीय पारी खेलिन् र ५ विकेट लिएर नेपाललाई १६५ रनले विजयी गराइन्।
उनको कप्तानीमा नेपाल पहिलोपटक २०२५ को यू–१९ महिला टी–२० विश्वकपमा छनोट भयो। त्यतिमात्रै होइन उनकै कप्तानीमा नेपालले २०२५ मा मलेसियामा आयोजित यू–१९ महिला विश्वकपमा आयोजक मलेसियालाई हराउँदै ऐतिहासिक पहिलो जित हासिल गर्यो।
सेना–प्रहरी नबने पनि क्रिकेटमार्फत देशकै लागि खेलिरहेकोमा दंग छिन् पूजा।
‘हामी क्रिकेट खेल्दा पनि देशकै प्रतिनिधित्व गरिरहेका हुन्छौँ,’ उनले भनिन्, ‘ममीड्याडीलाई मप्रति विश्वास थियो। क्रिकेटमा मलाई राम्रो ब्याट चाहियो, राम्रो पन्जा चाहियो, राम्रो जुत्ता चाहियो भन्दा कहिल्यै पनि ममी ड्याडीले नाइँ भन्नुभएन। खासमा म उहाँहरूको आशीर्वादकै कारण यहाँसम्म आइपुगेको हुँ।’

पहिलोपटक नेपालको जर्सी लगाएर मैदानमा जाँदा उनी दंग थिइन्। शरीरमा काँडा उम्रेको थियो। आफैलाई प्रश्न गरिरहेकी थिइन्– ‘कतै यो सपना त होइन?’
हालै आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एसिया छनोट प्रतियोगितामा ऐतिहासिक सफलता प्राप्त गर्दै नेपाली राष्ट्रिय महिला टोली स्वदेश फर्किएको छ। यतिखेर यो टोलीको उपकप्तान छिन्, पूजा। अन्डर १९ को कप्तान हुँदा नेपाललाई विश्वकपमा पुर्याइन्, सिनियर टोलीमा उपकप्तान हुँदा ग्लोबल छनौटमा।
‘एकदमै राम्रो र खुसी महसुस भइरहेको छ,’ पूजा भन्छिन्, ‘यसमा दिदीहरूको १८ वर्षको मेहनत र लगाव थियो। बल्ल त्यसको परिणाम आयो, हामी सबै खुसी भएका छौँ। अब विश्वकप पनि यहीबेला खेल्ने मन र सपना छ। अझ मभन्दा पनि हाम्रो सिनियर दिदीहरूको सपना पूरा भएको हेर्न मन छ।’
यसपटक सिनियर टोलीबाट पनि विश्वकप पुग्नेमा विश्वस्त छिन् पूजा। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले पनि राम्रो सहयोग गरिरहेको बताउँछिन्।
‘क्यानले स्टेपअप गरिरहेको छ,’ उनले भनिन्, ‘दिल्ली टुर पनि गराउनुभयो। अझै राम्रो तयारी पाउँछौँ होला। पहिलेभन्दा धेरै सुधार भइरहेको छ, महिला क्रिकेटमा। हामीलाई फिटनेस एकदमै आवश्यक छ। विराट कोहली फिटनेसकै कारण त्यहाँसम्म पुग्नुभएको हो। क्यानले पनि अहिले फिटनेस ट्रेनर दिएको छ। विस्तारै प्रगति हुने हो। मलाई विश्वास छ, हामी यसपालि पूरै ज्यान दिएर खेल्नेछौँ र विश्वकपमा पुग्नेछौँ।’

उनी क्यानले केही गरेन या महिलाभन्दा पुरुषलाई बढी महत्व दियो भन्ने पक्षमा छैनन्।
भन्छिन्, ‘हामीले परिणाम दिएपछि उहाँहरूले पनि दिनुहुन्छ। घरमा पनि अभिभावकले राम्रो नगरेसी डाँट्नुहुन्छ। क्यान पनि हाम्रो अभिभावक हो। हामीले परिणाम दिएपछि क्यानले पनि हेरिहाल्छ नि। त्यसैले अब हामीले परिणाम दिनुछ, दिनुपर्छ।’
पूजा आफ्नो पर्फमेन्सले कहिल्यै सत प्रतिशत सन्तुष्ट हुँदिनन्। जहिल्यै ‘अझै राम्रो गरौँ’ भन्ने हुन्छ। झन् राम्रो खेल्न नसकेको दिन त ‘म कहाँ चुकेँ, ममा के कमजोरी भयो’ भनेर आत्मसमीक्षा गरिहाल्छिन्। त्यसपछि कमजोरी औँल्याउँदै फेरि अर्को खेल राम्रो खेल्ने प्रयत्न गर्छिन्।
हामीले पूजालाई सोध्यौँ– ‘क्रिकेटले सबैभन्दा ठूलो पाठ के सिकायो?’
जवाफमा उनले भनिन्, ‘जीवनमा अप्स एन्ड डाउन्स हुन्छ। राम्रो र नराम्रो दुवै खाले कमेन्ट आउँछ। तर, तिमी कसरी कमब्याक हुन्छौँ, त्यो महत्त्वपूर्ण हुन्छ। कुनै सपना देख्यौँ भने त्यसलाई पूरा गर्न सकिँदोरहेछ भन्ने कुरा मैले क्रिकेटबाटै थाहा पाएँ।’
हामीले फेरि सोध्यौँ– ‘हातमा ब्याट लिएर मैदानमा उभिइरहेका बेला मनमा के सोच आउँछ?’
‘म यहाँसम्म पुग्नुपछाडि बुबाको ठूलो योगदान छ,’ उनले भनिन्, ‘बुबाको मेहनत याद गर्छु। कसरी ड्याडीले चिया बेचेर घर चलाउनुभयो। यदि मेरो ड्याडी त्यति मेहनत गर्न सक्नुहुन्छ भने म किन सक्दिनँ? त्यही भएर हरेक बल फेस गर्दा यो इनिङ्स चाहिँ मेरो ड्याडीलाई डेडिकेट गर्छु भन्ने लाग्छ।’

पूजाका लागि क्रिकेट के हो ?
भन्छिन्, ‘क्रिकेट मेरो लागि भगवान् हो। १० वर्षपछि म कहाँ हुन्छु, त्यो त मलाई थाहा छैन, तर मेरो हातमा ब्याट र बल चाहिँ हुनुपर्छ।’
क्रिकेट खेल्न थालेपछि सुरुसुरुमा जब पूजा महोत्तरी गौशालास्थित आफ्नो गाउँ पुग्थिन्, मान्छेहरू उनलाई गिज्याउँथे। उनको कुरा काट्थे। तर, जब उनको नेतृत्वमा नेपाल विश्वकप क्वालिफायरमा छनोट भयो, त्यसपछि गाउँतिर उनको परिचय नै बदलिएको छ।
‘सुरुमा मधेसतिर धेरै सम्मान दिँदैन थिए,’ पूजा भन्छिन्, ‘नेपाल विश्वकप क्वालिफायर छनौटमा पुगेपछि त सबैले ‘पूजा म्याम’, ‘पूजाजी’ भन्न थाले। पहिले ‘दिल्लीवाली आ गई’ भन्थे, अहिले ‘पूजा म्याम’ भन्छन्। रानीजस्तै व्यवहार गर्छन्, महोत्तरीकी शेरनी नै भन्छन्।’
हेर्नुहोस् ‘लेट्स टक’, जहाँ पूजाले आफ्नो बाल्यकाल, क्रिकेट करिअर–किस्सा, सम्बन्ध आदिबारे खुलेर बोलेकी छन् :

प्रतिक्रिया