बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। आइतबार बेलुका भएको खेलमा रियल मड्रिडलाई ४–३ गोल अन्तरले पराजित गर्दै बार्सिलोना उपाधिबाट मात्रै ३ अंकले टाढा छ। घरेलु लिगको उपाधिका निर्णायक मानिएको खेलमा केलियन एम्बापेले २–० को अग्रता दिलाए पनि रियलले जोगाउन सकेन।
खेलमा ह्याट्रिक गरेका एम्बापेले पाँचौँ मिनेटमा पेनाल्टी मार्फत रियललाई अग्रता दिलाएका थिए। १४ औँ मिनेट उनले अर्को गोल थप्दै २–० को अग्रता दिलाए पनि घरेलु टोलील लय बिगारेन। इरिक गार्सियाले १९ औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्किने संकेत दिए। पहिलो हाफमै बार्सिलोनाले ४–२ को अग्रता बनायो।
३२ औँ मिनेटमा लामिन यामलले गोल गर्दा ३४ औँ मिनेटमा राफिन्हाले अर्को गोल थपे। पाहुना टोलीमाथि लगातार आक्रमण बुनेको बार्सिलोनाका लागि ४५ औँ मिनेटमा राफिन्हाले नै दोस्रो गोल गर्दा बार्सिलोनाले ४–२ को अग्रता बनाएको थियो।

तर ७० औँ मिनेटमा बार्सिलोनाको डिफेन्सले बल फुत्काउँदा एम्बापेले ह्याट्रिक गर्ने मौका पाए। ह्याट्रिकसँगै एम्बापे शीर्ष गोलकर्ता बने पनि टोली भने उपाधिबाट टाढिएको छ। एम्बापेले लिगमा २७ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका बार्सिलोनाका लेवान्डोस्कीको २५ गोल छ। रियलविरुद्धको खेलमा लेवान्डोस्की मैदान उत्रिएनन्।
लिगका तीन खेल बाँकी हुँदा बार्सिलोनाको ८२ र रियलको ७५ अंक छ। अब बार्सिलोनाले स्पानियोलसँग खेल्नेछ। उक्त खेल जिते बार्सिलोनाले २ खेल अघि नै उपाधि उचाल्ने छ।
Shares

प्रतिक्रिया