प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय पूरा नभएको बताएका छन्। आफ्नो सरकारको पहिलो मन्त्रिपरिषद् बैकठले ३०० दिनमै बनाउने भने पनि त्यस्तो नभएकाले यसबारे सहरी विकास मन्त्रालयसँग स्पष्टीकरण पनि लिएको उनले बताएका छन्।
‘यो सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो, पर्सि २४ गते ३०० दिन पुग्दै छ,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘किन समयमै काम नसकेको भनेर सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छु।’
जग्गा प्राप्तिमा ढिलाइ, रुख कटानको कानुनी समस्य लगायतका कारण ढिला भएको आफूले जानकारी पाएको भन्दै उनले अबको २ महिनाभित्र त्यो काम पुरा भइसक्ने प्रतिबद्धता आफूसँग गरिएको पनि ओलीको भनाइ छ।
‘उहाँहरूले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको बताउनु भयो,’ उनले भनेका छन्,‘ थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा गर्नु भएको छ।’
थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने समेत ओलीको भनाइ छ। ‘आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ,’ ओलीले भनेका छन्, ‘कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनुपर्थ्यो। थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी गराएको छु। असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला पाउने छौँ।’
यसअघि सरकारले वैशाख २४ गतेसम्म रंगशाला निर्माणको समय दिएको थियो। निर्माण कम्पनीले भने अबको एक महिनाका काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्यारापेटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको उनीहरुको भनाइ छ।
Shares

प्रतिक्रिया