यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानविरुद्ध दुई पटक पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनाले रोमाञ्चक बराबरी गरेको छ।
बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँग ३–३ को बराबरी गर्दै बार्साले फाइनल खेल्ने सम्भावना जिवित राखेको हो।
खेल सुरु भएको ३० सेकेण्डमा नै मार्कस थुमरको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता बनाएको थियो। च्याम्पियन्स लिगको इतिहासको सेमिफाइनलमा मार्कसले सबैभन्दा छिटो गा्ल गरेका हुन्।
खेलको २१ औँ मिनेटमा डम्फ्रिचको गोलमा इन्टरले बार्सिलोनाविरुद्ध २–० को अग्रता बनाएको थियो।
तर पहिलो हाफको २४ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सिलोनाले खेलमा फर्किने संकेत गर्यो। १७ वर्षको उमेरमा २२ औँ गोल गरेका यामालले क्लबका लागि आफ्नो १ सयौँ क्याप पूरा गरे। यामालले क्लबका लागि ३३ असिष्ट र २२ गोल गरिसकेका छन्।
३८ औँ मिनेटमा राफिन्हाको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा ल्याएका थिए।
खेलको ६३ औँ मिनेठमा डम्फ्राइजले व्यक्तीगत दोस्रो गोल गर्दै इन्टरलाई ३–२ को अवस्थामा ल्याएका थिए। हाकान काल्हानोग्लुको कर्नरमा उनले गोल गर्दै बार्साविरुद्ध टोलीलाई पुनः अग्रता दिलाएका थिए।
तर त्यसको दुई मिनेटमा नै बार्सिलोनाले उपहार गोलमा पुनः बराबरीको मौका पायो। बार्सिलोनाका राफिन्हाले २५ यार्डबाट गरेको प्रहार बारमा लाग्न पुग्यो। जुन प्रहार इन्टरका गोलरक्षक यान सोमरको ढाडमा लाग्दै जाली चुमेको थियो।
खेलमा लगातार अग्रता बनाएपनि इन्टरले बार्सिलोनालाई रोक्न नसक्दा दोस्रो लेगमा टोली थप सन्तुलित बन्नुपर्नेछ। सेमिफाइनलको दोस्रो लेग मंगलबार हुनेछ।
Shares

प्रतिक्रिया