नेपाली युवा टोली नवौँ पटक विश्वकप खेल्न अब एक खेलले टाढा छ। आगामी शनिबार मूलपानीको तल्लो मैदानमा हुने अफगानिस्तानसँगको भिडन्तले नेपालको यू–१९ विश्वकपको बाटो तय हुनेछ। सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा एसिया छनोटबाट एक मात्रै टोली पुग्ने छ।
अहिलेसम्म अरु टोलीको सम्भावना समाप्त हुँदा अन्तिम खेल बाँकी रहेका यी दुवै टोलीको सम्भावना छ। गत वर्ष दक्षिण अफ्रिकामा दुवै टोलीले विश्वकप खेलेका थिए। नेपालले त्यसअघि सन् २००२ देखि २००८ सम्म पनि लगातार विश्वकप खेलेको थियो।
तर त्यसपछि २०१२ र २०१६ मा मात्रै विश्वकपमा पुगेको नेपाल घरेलु मैदानमा भएको छनोटबाट लगातार दोस्रो वर्ष खेल्ने योजनामा छ। नेपालले बुधबार १२.३ ओभरमै हङकङलाई ९ विकेटले पराजित गर्दा अफगानिस्तानले पनि यूएईलाई १८० रनले पराजित गर्यो।
हामी विश्वकपको कति नजिक पुग्यौँ?
अब त्यही एउटा खेल हो।
सुरुमा वन बाइ वन म्याचलाई खेल्ने र अन्तिममा गएपछि एउटा चुनौती आउँछ, त्यतिबेला देखा जाला भन्ने थियो। अब दुई दिनपछि त्यो समय आयो।
जसमा हाम्रो नेपाली यू–१९ क्रिकेट टोलीका लागि उच्च तहको प्रतियोगिता यही हो। दुई महिनाको तयारी भयो र अहिले आएर टिमले आफ्नो शत प्रतिशत दिएर तीनवटै खेल जितेको छ। अब अफगानिस्तान एउटा राम्रो टिम हो, टेस्ट राष्ट्र हो। हामीले सिरिज पनि खेलेका थियौँ। एउटा एक रनले हार्यौँ र एउटा त्यति राम्रो भएको थिएन। तर एक खेल जितेर हामीले जित्न सक्छौँ भन्ने देखाइसकेका छौँ।
अब अन्तिम खेल हो। दुवै टोली बलियो छन्। अब जसले राम्रो खेल्छ, यसैले जित्छ।

अहिलेसम्मको आफ्नो टिमको प्रदर्शनलाई तपाईंले कसरी लिनुभएको छ?
राम्रो छ। पहिलो खेल हामीले ५ रनले मात्रै जिते पनि त्यो दिन हामीलाई पानीले अवरोध गरेको थियो। त्यसले गर्दा खेल अलिक टाइट भएको थियो। त्यसपछिका खेलमा हामीले जुन प्रदर्शन गर्यौँ, एकदमै उत्कृष्ट छ। मलाई लाग्छ, हामी आफ्नो बेस्ट पोजिसनमा छौँ अहिलेको लागि।
अफगानिस्तानले बुधबार मात्रै यूएईलाई ३६० रनको लक्ष्य प्रस्तुत गर्यो। जुन टोलीसँग हामीले कठिन रूपमा जितेका थियौँ। यस हिसाबले हेर्दा हामीभन्दा अफगानिस्तान अलिक बलियो रहेछ भन्न सक्छौँ?
त्यसरी तुलना गर्न मिल्दैन क्रिकेटमा। अब भारत पनि त कुनै खेलमा १ सय रन नबनाई अलआउट हुन्छ कहिले ४ सय रन हान्छ। पहिलो खेलमा हामीले पनि ३१० रन बनाएका थियौँ। तर हामी १ सयभन्दा बढी रनले हारेका थियौँ। दोस्रो खेल हामीले जितिसकेका थियौँ तर एक रनले हार्न पुग्यौँ। अन्तिम खेल हामीले ८० रनले जित्यौँ। खेल हो भर हुन्न।
आज उनीहरूले ३६० रन हाने भनेपछि हामीले पनि त १२ ओभरमा जितेका छौँ नि। त्यसरी तुलना गरेर हुँदैन। अब खेलमा के हुन्छ भने मैदानमा उत्रिसकेपछि जुन टिमले न्यूनतम गल्ती गर्छ त्यही टिमले जित्ने हो।
अब शनिबार दुवै टोलीलाई विश्वकप खेल्न गर या मरको अवस्था हुनेछ। त्यस्तो अवस्थामा हामीलाई घरेलु मैदानको फाइदा पनि छ, यसबाहेकका रणनीति के हुन्छन् नेपालका?
घरेलु मैदान भए पनि नयाँ ग्राउन्ड हो। हामी पनि त्यहाँ सधैँ खेलिरहेको मैदान होइन। बल्ल दुईटा म्याच खेलेका छौँ। त्यो भन्दापहिले पनि अभ्यास एकपटक मात्रै गरेको हो। त्यही भएर घरेलु मैदान भन्दैमा जितिहालिन्छ भन्न मिल्दैन। जहाँबाट आएर पनि मैले त्यही नै भन्छु, खेलको दिनमा जसले सबैभन्दा कम गल्ती गर्छ र उत्कृष्ट टिम प्रदर्शन गर्छ, त्यसैले जित्छ।
व्यक्तिगत रूपमा चाहिँ हाम्रा खेलाडीहरूको प्रदर्शन कस्तो छ?
गएको दुई महिना हामीले जुन कामहरू गर्यौँ, त्यसपछि हामीले दिल्लीको टिमसँग खेल्यौँ। अफगानिस्तानसँग सिरिज खेल्यौँ। अहिले आएर हेर्दाखेरी दिनदिनै हाम्रो सबै खेलाडीहरूको सुधार हुँदै गइरहेको छ। मलाई विश्वास छ आउँदो खेलमा पनि उनीहरूले उत्कृष्ट प्रदर्शन गर्छन्।

गएको विश्वकपमा पनि हामीले अफगानिस्तानलाई हराएका थियौँ। त्यसपछि एसिया कपमा पनि हामीले एक विकेटले अफगानिस्तानलाई पराजित गरेका थियौँ। हामीसँग पुराना खेलाडी छैनन्। उनीहरूसँग एसिया कपमै खेलेका ६/७ जना खेलाडी छन्। उनीहरूको आफ्नो स्ट्रेन्थ छ, हाम्रो पनि आफ्नै स्ट्रेन्थ छ। त्यसले गर्दा दुवै टिम बलियो स्थितिमा छौँ हामी।
तपाईंले मनमा लागेको कुरा भन्नुभयो भने जित्ने सम्भावना कति देख्नुहुन्छ र त्यसका लागि यो बीचमा के तयारी हुन्छ?
अहिले मैले अनुमान गरेर अर्थ छैन। म जहिले पनि यही कुरा भन्छु– त्यो दिन जसले बेस्ट खेल्न सक्छ, प्रेसरमा सम्हालिन सक्छ उसैले जित्छ। अब दुई दिन छ, परीक्षा आइसक्यो अब पढेर फस्ट हुन्छु भनेर हुँदैन। आफ्नो तयारी जे छ, अब बेस्ट दिने हो।
गल्ती त हुन्छ जहाँ पनि, तर त्यो दिन न्यूनतम गल्ती गर्न पर्यो। जुन योजना बनाएका छौँ, त्यही अनुसार प्रदर्शन गर्न सक्यौँ भने हामी जित्छौँ भन्ने विश्वास छ।
Shares

प्रतिक्रिया