राजनीति


गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत

राष्ट्र बैंकका क्याडर भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ र सक्षम मानिन्छन्


सागर न्यौपाने
बैशाख ३, २०८२ बुधबार २३:३४, काठमाडौँ

लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्।    

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा गुणाकर भट्टलाई बनाउन ओली र देउवाबीच सहमति जुटेको हो।

हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। 

गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको देउवानिकट कांग्रेसका एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘आज हाम्रो सभापतिले प्रधानमन्त्रीसमक्ष नयाँ गभर्नरका लागि नाम प्रस्ताव गर्नुभयो। गुणाकर भट्टको नाममा प्रधानमन्त्री पनि सहमत हुनुभएको छ,’ ती नेताले भने।

कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि सो कुरा पुष्टि गरे।

'गुणाकर भट्टको नाममा कुरा भयो, प्रधानमन्त्री ओलीले ठिकै छ भनेर पोजिटिभ जवाफ दिनु भएको छ,’ उनले नेपालखबरसँग भने ।

यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्‌मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ। 

समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ।

गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन्। 

कांग्रेस सभापति देउवा उपचारको क्रममा आइतबार ब्यांकक जाने कार्यक्रम छ। ब्यांकक जानुअघि देउवा गभर्नरको नाम टुङ्ग्याउन चाहन्थे। सोही अनुसार बुधबार सहमति जुटेको कांग्रेसका ती नेताले बताए। 

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बुधबार दिउँसो गभर्नरमा सहमति जुटेको र छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने बताएका थिए। 

बजारमा सरकार ढल्ने हल्ला चलेपछि मंगलबार बिहान ओली र देउवाबीच बालुवाटारमा एकान्त–वार्ता भएको थियो। देउवानिकट अर्का एक नेताका अनुसार, सभापति देउवाले सोही भेटमा ओलीसमक्ष गभर्नरको नाम प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री ओलीले हाल कायममुकायम गभर्नरको भूमिकामा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन जोडबल गरेका थिए। नेताहरूका अनुसार, ओलीले ‘नीलम ढुंगाना पनि तपाईँहरूकै (डेमोक्र्याट) हो, महिला र डेपुटी गभर्नर पनि भएकाले विवाद पनि हुँदैन’ भनेर आश्वस्त पार्ने प्रयास गरेका थिए।

तर, देउवा त्यसमा तयार भएनन्।

‘त्यसपछि प्रधानमन्त्री ओलीले नाम दिनुहोस् न त भन्दै लचक बन्नुभयो,’ ती नेताले थपे, ‘अनि हाम्रो सभापतिले गुणाकर भट्टको नाम प्रस्ताव गर्नुभएको हो।’

यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे पनि कांग्रेस नेतृत्वको साथ पाएर गभर्नर बन्ने प्रयासमा थिए। 

क्षत्री र पाण्डे सर्वोच्च अदालतको आदेशका कारण प्रतिस्पर्धाबाट बाहिर परिसकेका छन्। सर्वोच्चले मंगलबार मात्र ६५ वर्षे उमेर हदको व्यवस्था हटाउने गरी मापदण्डमा सरकारले गरेको संशोधन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो। 

भट्टले यसअघि प्रकाशशरण महत अर्थमन्त्री छँदा आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए। उनलाई गभर्नर बनाउनुपर्ने भन्दै सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिहरूदेखि सांसदहरूका टोली धेरैपटक 'यत्तिको मान्छेलाई गभर्नर बनाउनैपर्ने' भन्दै बूढानीलकण्ठ पुगेका थिए।

राष्ट्र बैंकका क्याडर भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ र सक्षम मानिन्छन्। र, अहिले आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला भट्ट त्यसबाट टाढै रहेका व्यक्ति हुन्। 

२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट विदा भएका थिए। त्यसयता गभर्नर पद खाली छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad