वैशाख ५ गतेदेखि आठौँ राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा टोखाको स्केटर्स नेपाल स्केटपार्कमा दुई दिने प्रतियोगिता हुन लागेको हो।
नेपालमा सन् २०७० सालमा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएदेखि निरन्तर विभिन्न प्रतियोगिताहरु हुँदै आएका छन्। मंगलबार संघले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो।
यस प्रतियोगितामा फ्रिस्टाइल विधामा बेस्ट ट्रिक र बेस्ट रन खेलाइने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए।
यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौँमा विभिन्न राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न भइसकेका छन्। काठमाडौँमा दोस्रोपटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।
नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलप्रति रुची राख्ने धेरै युवा पुस्ता बढेसँगै राष्ट्रव्यापी रुपमा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आइरहेको संघले जनाएको छ। यस राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा कुल २५० जना पुरुष र १५० जना महिला खेलाडीले प्रतिष्पर्धा गर्नेछन्।
वैशाख ५ गते छनोटचरणको खेल हुने र फाइनल प्रतिस्पर्धा हुने तय गरिएको छ। पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले कोरियामा हुने एशियन रोलर स्पोट्र्स च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष खनालले जानकारी दिए।
Shares

प्रतिक्रिया