खेल


प्रधानमन्त्री कप क्रिकेट: गण्डकी र सशस्त्र विजयी, २ टिम बाहिरिए

प्रधानमन्त्री कप क्रिकेट: गण्डकी र सशस्त्र विजयी, २ टिम बाहिरिए

नेपालखबर
चैत ११, २०८१ सोमबार १९:४२, भैरहवा (रूपन्देही)

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन्।

गण्डकीले मधेसलाई प्रतियोगिताको पहिलो सुपर ओभरमा हराएको छ भने सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। गण्डकीले जिते पनि सबै खेलमा ४ अंक मात्र बटुल्दै बाहिरिएको छ भने अन्तिम खेल खेलेको लुम्बिनी पराजित हुँदै बाहिरिएको छ।

जारी प्रतियोगितामा आज पहिलो सुपर ओभर खेलाइएको हो। मधेस प्रदेश र गण्डकी प्रदेशबीचको खेल बराबरीमा टुंगिएपछि खेलको छिनोफानो गर्न सुपर ओभर खेलाइएको हो।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा २४७ रनको लक्ष्य लिई मैदान प्रवेश गरेको गण्डकीले ५० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो। अन्तिम बलमा २ रन आवश्यक रहे पनि सन्दीप अर्याल रन आउट भए। तर, त्यसअघि नै एम्पायर सञ्जय गुरुङले बललाई वाइड दिइसकेकाले गण्डकीले १ अतिरिक्त रन पाउँदै खेल बराबरीमा टुंगिएको थियो।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै गण्डकीले २२ रन बनाएको थियो। २३ रनको लक्ष्य मधेसले भेटाउन सकेन। उसले सुपर ओभरमा ९ रन मात्र बनाउन सक्यो र अन्ततः गण्डकी प्रदेश सुपर ओभरमा विजयी भयो।

यसअघि गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरे। उनले १४० बलको सामना गर्दै १० चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए। यसैगरी गण्डकीका लागि दिनेश बुढामगर र सुदीप अर्यालले ३४/३४ रन र सुभास भण्डारीले १३ रन बनाए।

बलिङमा मधेसका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रञ्जित कुमार, प्रदीप पासवान र पवन सर्राफले १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले रोहन विक, हरिशंकर साह र रुपेश सिंहको अर्धशतकको सहयोगमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो।

मधेसका लागि रोहन विकले ९८ बलको सामना गरी ६ चौका र ३ छक्काको सहयोगमा ६४ रन बनाए। हरिशंकर साह र रुपेश सिंहले समान ५१/५१ रन बनाए भने पवन सर्राफले ३३ रन बनाए।

बलिङमा गण्डकी प्रदेशका विपिन खत्री र कमल परियारले समान २/२ विकेट लिँदा अमीत गुरुङ र सन्दीप पराजुलीले १/१ विकेट लिए।

प्रतियोगितामा ७ खेल खेलेको मधेस २ मा जित र ५ मा हार गरी ४ अंक हासिल गरेको छ भने ९ खेल खेलिसकेको गण्डकी मात्र २ मा जित हासिल गरी ४ अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

आजै सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। लुम्बिनीले दिएको २२४ रनको लक्ष्य सशस्त्रले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा हासिल गर्‍यो।

सशस्त्रका लागि कप्तान रोहित पौडेल र पुरन विकले अर्धशतक बनाए। पुरन विकले ११२ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा अविजित ७२ रन बनाए भने रोहित पौडेलले ९४ बल खेल्दै ७ चौकाको सहयोगमा ७१ रन जोडे। सशस्त्रका लागि सन्दिप जोराले अविजित २१ रन र लोकेश बमले २१ रन बनाए।

रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गर्दै लुम्बिनी प्रदेशले कप्तान देव खनाल र मृनाल गुरुङको अर्धशतकको सहयोगमा ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले ७९ बलको सामना गरी ४ चौकाको सहयोगमा ६३ रन बनाउँदा मुनाल गुरुङले ८७ बलको सामना गरी ४ चौकाको सहयोगमा ५५ रन बनाए। आकाश त्रिपाठीले २२ रन र प्रज्ज्वल थापाले २० रन बनाए।

लुम्बिनी प्रदेश ४ खेल जित र ५ मा हारसहित ८ अंक ल्याएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। यसैगरी ८ खेल खेलेको सशस्त्र प्रहरीले थप २ अंक जोड्दै फाइनल पुग्ने सम्भावना छ। सशस्त्रले ८ खेलमा ६ मा जितसहित १२ अंक ल्याएको छ। अझै एक खेल खेल्न बाँकी छ।

प्रतियोगितामा हालसम्म सबै ७ वटा खेलमा अविजित रहँदै नेपाल पुलिस क्लब १४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ खेल खेलेको त्रिभुवन आर्मी क्लब ७ खेलमा जित निकाल्दै १४ अंकका साथ दोस्रो स्थानमा छ।

प्रतियोगिताको शीर्ष २ टोलीले यही चैत १६ गते फाइनल खेल्नेछ। मंगलबारको खेल रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad