फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमार (बर्मा) ले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि हात पारेको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गर्यो।
म्यानमारको जितमा यु पर खिन र कप्तान विन थेंगी टेनले गोल गरे। खेलको ६२ औँ मिनेटमा म्यानमारकी यु पर खिनको गोलमा म्यानमारले सुरुवाती अग्रता बनायो। डीबक्स नजिकबाट एक्लैले अघि बढाएको बललाई खिनले सेकेन्ड बार च्याप्दै पोस्टको जाली चुमाएकी थिइन्।
खेलको ६४ औँ मिनेटमा फ्यु फ्यु विनको फ्री किकमा कप्तान विन थेंगी टेनले गोल गर्दै म्यानमारको अग्रता दोब्बर पारिन्। यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बन्यो।
खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। त्यसअघि खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला बिकले उत्कृष्ट बचाउ गर्दै नेपालका लागि खतरा टारिन्।
३५औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाउँदा नेपालले अग्रताको अवसर गुमायो।
खेलको ४४औँ मिनेटमा रेनुका नगरकोटेले निकालेको क्रसमा बक्सभित्र रहेकी सावित्राको हेडरले जाली चुम्न सकेन।
यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरी खेलेका थिए। जितसँगै म्यानमारको टिमले मैदानमा खुसी साटासाट गरेको छ।











Shares

प्रतिक्रिया