नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन फागुन १० गते हुने भएको छ।
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करणका लागि खेलाडी अक्सनको मिति तय भएको हो।
तेस्रो संस्करणको एनएसएलमा सात वटा टिम सहभागि हुने भएका छन्। साविक विजेता ललितपुर सिटी एफसीसँगै, काठमाडौँ रेजर्स एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन्।
पछिल्लो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेड भने यो संस्करणमा नहुने भएका छन्।
प्रत्येक टिममा २२ देखि २३ खेलाडी हुनु पर्नेछ। अक्सनमा खेलाडी अनुबन्ध गर्दा एक मार्की खेलाडी, २ देखि तीन जनासम्म ए क्याटेगोरीका खेलाडी र ६ जना बी क्याटेगोरिका खेलाडी अनुबन्ध गर्नुपर्नेछ।
यस्तै सी क्याटेगोरीबाट ४ जना र डी क्याटेगोरीबाट एक जना खेलाडी अनुबन्ध गर्नुपर्नेछ। यस्तै विदेशी खेलाडी हरेक टिमले ६ जनासम्म अनुबन्ध गर्न पाउने भएपनि एक जना एसियाली देशकै हुनु पर्नेछ। एक जना गैरआवासीय नेपाली खेलाडी पनि अनुबन्ध गर्न सकिनेछ। तर यसका लागि अनिवार्य गरिएको छैन।
एक जना नयाँ खेलाडीलाई भने टिममा राख्नै पर्ने प्रावधान गरिएको छ।
Shares

प्रतिक्रिया