खेल


एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

नेपालखबर
माघ २४, २०८१ बिहिबार १८:०, काठमाडौँ

टाईब्रेकरमा एनआरटीलाई पराजित गर्दै चर्च ब्वाईज युनाइटेड क्लब आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रगंशालामा बिहिबार भएको तेस्रो प्रि-क्वार्टरफाइनलमा टाईब्रेकरमा एनआरटीलाई ६-५ गोलअन्तरले हराउँदै चर्चब्वाईज अन्तिम आठमा पुगेको हो।

निर्धारित समयमा दुवैतर्फबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो।

चर्चब्वाइजका लागि नविन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फाकुन्ले, प्रशान्त लक्षम, टेकेन्द्र धामीले गोल गरे। सकल रेग्मी, सर्जे डिका र राज भुषालको प्रहार विफल भयो।   

एनआरटीका अन्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार, राजिव लोप्चनले पेनाल्टीमा गोल गरे। एञ्जल महर्जन, जन्मजय धामी, रिचार्ड विल्सन र माईकल मगरको प्रहार विफल भयो।

अतिरिक्त समयको २१ औँ मिनेटमा एनआरटीका कप्तान अन्जन विष्टको फ्रिकिक चर्चब्वाईजका गोलरक्षकले पन्च गर्दै बचाए।

त्यसअघि खेलको ८५ औँ मिनेटमा  राज भुषालले सिक्स यार्ड बाहिरबाट गरेको प्रहार विशाल सुनारले जोगाउँदा चर्च ब्वाईजले अग्रता दोब्बर पार्ने मौका गुमायो।

खेलको ७० औँ मिनेटमा राज भुषालले एनआरटीको डिफेन्डरलाई छक्याउँदै दिएको पासमा नविन लामाको प्रहार एनआरटीका गोलरक्षकले विशाल सुनारले सहजै बचाए।

खेलको ६३ औँ मिनेटमा नविन लामाले पेनाल्टीमा गोल गर्दै  चर्च ब्वाईजलाई खेलमा फर्काएका थिए।

एनआरटीका नरेन चौधरीले चर्च ब्वाईजका मनिष जर्गामगरलाई डिबक्स एरियाभित्र खराब ट्याकल गरेपछि चर्चब्वाईजले पेनाल्टीको मौका पाएको थियो। जुन अवसरलाई नविनले खेर जान दिएनन्।

त्यसअघि पहिलो हाफको सातौं मिनेटमा चर्च ब्वाईजका अबायोमी फाकुन्लेको क्रसमा मिलन राईको प्रहार क्रसबारको माथिबाट आकाशियो।

नवौं मिनेटमा अबायोमीको क्रसमा नविन लामाको प्रहार एनआरटीका गोलरक्षक विशाल सुनारले सहजै बचाए।

खेलको २२ औँ मिनेटमा एनआरटीका एञ्जल महर्जनको फ्रि किक प्रहार सिधै चर्च ब्वाईजका गोलरक्षक टिकेन्द्र थापाको हातमा पुग्यो।

खेलको २५ औँ मिनेटमा रिचार्ड विल्सनको गोलमा एनआरटीले सुरुवाती अग्रता लिएको थियो।

कृतिषरत्न छुन्जुको प्रहार चर्चब्वाईजका गोलरक्षक टिकेन्द्र थापाले पन्च गर्दै जोगाएपनि त्यसकै रिबाउण्डमा विल्सनले बललाई पोष्टको जाली चुमाए।

चर्च ब्वाईजले क्वार्टरफाईनलमा सोमबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

प्रतियोगिताको अन्तिम प्रि-क्वार्टरफाईनलमा भोलि शुक्रबार संकटा क्लब र थन्डर बोल्ट नर्थ युनाईटेड क्लब भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad