स्पेनिस ला लिगामा शीर्षस्थानको रियल मड्रिड पराजित हुँदा ला लिगाको उपाधि होड रोमाञ्चक बन्दै गएको छ। २२ औँ चरणका खेलमा शीर्षस्थानको रियल मड्रिड पराजित हुँदा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको बार्सिलोना विजयी भए।
यो नतिजासँगै रियल मड्रिडको अग्रता एक अंकमा खुम्चिएको छ। शीर्षस्थानको रियल मड्रिडको २२ खेलबाट ४९ अंक छ। समान खेलमा एथ्लेटिको मड्रिडको ४८ अंक र बार्सिलोनाको ४५ अंक छ। सिजनको सुरुवातमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरे पनि बिचमा लगातार खराब प्रदर्शन गर्यो। त्यही बेला रियल मड्रिड शीर्षस्थानमा उक्लिएको थियो।
तर सिजनको दोस्रो हाफमा रियलले अंक गुमाउँदा प्रतिस्पर्धी दुवै टोली जित्न सफल भए। एथ्लेटिको मड्रिडले मालोर्कालाई २–० ले पराजित गर्यो। एथ्लेटिकोको जितमा सामुएल लिनो र एन्टोनी ग्रिजम्यानले गोल गरे।
यता रियल स्पानियोलको मैदानमा निराश भएर फर्कियो। कार्लोस रोमेरोले ८५ औँ मिनेटमा निर्णायक गोल गर्दै घरेलु टोलीलाई विजयी बनाए।
यता आइतबार राति बार्सिलोनालाई रोवेर्ट लेवान्डोस्कीले दोस्रो हाफमा निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बार्सिलोना सुरुदेखि नै हाबी भए पनि डिपोर्टिभो अलाभेसविरुद्ध गोल गर्न सकिरहेको थिएन। ६१ औँ मिनेटमा पोलिस फर्वाडको गोलले टोलीलाई उपाधि होडमा जीवित राख्यो।
Shares

प्रतिक्रिया