अस्ट्रेलियाली ब्याटर स्टिभ स्मिथले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका छन्। श्रीलंकासँगको पहिलो खेलको पहिलो दिन उनले शतक प्रहार गरेका छन्।
यो खेलअघि उनको ९ हजार ९९९ रन थियो। कप्तान प्याट कमिन्सको अनुपस्थितिमा दुई खेलको सिरिजको कप्तानी स्मिथले नै गरिरहेका छन्।
ट्राभिस हेड र मार्नस लाबुसेन आउट भएपछि स्मिथ क्रिजमा आएका थिए। उनले पहिलो बलमै मिड अनमा एक रन लिए र १० हजार रन पूरा गरे।
टेस्ट क्रिकेटमा १० हजार रन हान्ने उनी १५ खेलाडी हुन्।
यो कोसेढुंगा पार गर्ने उनी चौथो अस्ट्रेलियाली हुन्। यसअघि एलान बोर्डर, स्टिभ वा र रिक्की पोन्टिङले १० हजार रन पूरा गरेका थिए।
‘सौभाग्यवश खाली ठाउँमा त्यो एक रन हानेँ,’ उनले भनेका छन्।
पहिलो दिनको खेल अन्त्य हुँदा उनी नटआउट १०४ रनमा खेलिरहेका छन्। अस्ट्रेलियाको स्कोर ३३०–२ छ।
२०१८ मा बल खराब गर्न सहभागी भएको आरोपमा उनी एक वर्ष प्रतिबन्धमा परेका थिए।
सबैभन्दा धेरै टेस्ट रन भारतका सचिन तेन्दुलकरको नाममा छ। उनले १५ हजार ९२१ रन हानेका छन् भने दोस्रो स्थानमा रहेका पोन्टिङले १३ हजार ३७८ रन प्रहार गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया