खेल


प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई, इन्दु ‘प्लेयर अफ द सिरिज’

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई,  इन्दु ‘प्लेयर अफ द सिरिज’

तस्बिरः क्यान


नेपालखबर
माघ १२, २०८१ शनिबार १६:४४, फाप्ला (कैलाली)

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि एपीएफ क्लबले जितेको छ। धनगढीमा शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै एपिएफले उपाधि हात पारेको हो।

योसँगै एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो। उपाधिसँगै एपीएफले ५ लाख पुरस्कार पाएको छभने सुदूरपश्चिम उपविजेता हुँदै ३ रुपैयाँ लाख हात पार्‍यो। 

जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो। एपीएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन्। 

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ दशमलव एक ओभरमा ६७ रनमा समेटियो। जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

बलिङतर्फ एपीएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई/दुई विकेट हात पारे। कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन्। यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ७२ रन र पाँच विकेट हात पारेकी एपीएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन्।

एपीएफका लागि दुई सय ९ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनिषा उपाध्याय बेस्ट बलर हुन सफल भइन्। प्लेयर अफ द सिरिजले ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरले रु २५/२५ हजार पुरस्कार पाएका छन्। 

यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघका् आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो।

फाइनल खेलपछि आयोजित समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीलगायत खेलाडीहरूको उपस्थिति थियो।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad