खेल


रातो बलको क्रिकेट मधेसमा सुरु, चारै टोलीका ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न असफल

रातो बलको क्रिकेट मधेसमा सुरु, चारै टोलीका ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न असफल

नेपालखबर
पुस २१, २०८१ आइतबार २०:३३, काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्र बन्ने लक्ष्यसहित दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार जनकपुर र वीरगन्जमा सुरु भएको छ।

बागमती प्रदेशले मधेस प्रदेशसँग जनकपुरमा र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग वीरगन्जमा खेलेपछि नेपालमा फेरि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो।

गत संस्करणको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा शीर्ष चार टोली नेपाल पुलिस, आर्मी, बागमती र मधेस प्रदेशले जय ट्रफी मेन्स इलाइट कप नामकरण गरिएको बहुदिवसीय क्रिकेट प्रतियोगिता खेलेका हुन्। रातो बलको प्रथम श्रेणीको क्रिकेटलाई प्रवर्धन गर्ने उद्देश्यसहित नेपाली क्रिकेट संघ (क्यान) ले दुई दिवसीय फरम्याटको जय ट्रफीको सुरुवात गरेको हो।

क्यानले यसअघि नै लिग चरण दुई दिवसीय र फाइनल तीन दिवसीय फरम्याटमा सञ्चालन हुने स्पष्ट पारिसकेको छ।

आइतबार सुरु भएको नयाँ फरम्याटको क्रिकेटमा नेपाली ब्याटर टिक्नै सकेनन्। चारै टोलीका ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न असफल रहे।

त्यसअघि जनकपुरधाममा मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जय ट्रफीको उद्घाटन गरेका थिए। सो अवसरमा क्यानका सचिव पारस खड्काले क्रिकेटको इतिहास बोकेको जनकपुरमा रातो बलको क्रिकेट फेरि सुरु गर्न पाउँदा खुशी लागेको बताए।

केही समयअगाडि मात्र मधेस क्षेत्रकै प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) जित्दा आफूहरू उत्साहित भएको र यसै क्षेत्रमा बहुदिवसीय क्रिकेट सुरु हुनु सुखद् क्षण रहेको उनको भनाइ थियो।

उनले यस मैदानमा ऐतिहासिक प्रतियोगिता सुरु भएकाले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि नेपाल सरकार र मधेस सरकारको ध्यान जाने विश्वास व्यक्त गरे। उनले आगामी दिन पनि मधेसमा धेरैभन्दा क्रिकेट प्रतियोगिता आयोजना गर्न क्यानले पहल गर्ने बताएका छन्।

क्यानका उपाध्यक्ष रोशन सिंहले जित र हारभन्दा पनि देशमा क्रिकेटप्रति राम्रो क्रेज बढ्दै गएकोमा खुसी व्यक्त गरे।

दुई दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले भने खेलेका छैनन्।

रोहित र आसिफ एपीएफका खेलाडी हुन्। एपीएफ छनोट नहुँदा उनीहरू खेलबाट वञ्चित भएका हुन्।

दुई दिवसीयको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र आर्मी भिडेका थिए। पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको पुलिस १८ रनले पछि छ। आर्मीले पहिलो इनिङमा १२१ रनमा नै अलआउट भयो। पुलिसले पनि १०३ रन जोड्दा सात विकेट गुमाइसकेको छ। 

बागमती र मधेसबीच भएको दोस्रो खेलमा पनि ब्याटरले संघर्ष नै गरे। पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको बागमती ६८ रनले पछि छ।

त्यसअघि मधेस पहिलो इनिङमा १०२ रनमा नै अलआउट भएको थियो। जवाफी इनिङ सुरु गरेको बागमती १३ ओभरमा ३४-२ को अवस्थामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad