खेल


फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइजलाई

फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइजलाई

नेपालखबर
पुस १५, २०८१ सोमबार १९:५४, काठमाडौँ

पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ।
    
पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो।

निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे।

मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए। कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो।

खेलको ४५औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। अठहत्तरऔँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए। खेलको ८८औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए।

तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरी गरे। दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उपविजेतामै सीमित बन्यो।

उपाधिसँगै चर्च ब्वाइजले रु १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad