खेल


पोहोर संसारकै उत्कृष्ट टोली, यसपालि झुम्राको पुतली : सिटीको पतनको कारण

पोहोर संसारकै उत्कृष्ट टोली, यसपालि झुम्राको पुतली : सिटीको पतनको कारण

नेपालखबर
पुस ११, २०८१ बिहिबार १७:५६,

८ हप्ता, १२ खेल अनि ९ हार। फुटबलमा म्यान्चेस्टर सिटीको यस्तो पतनपछि प्रशिक्षक पेप ग्वार्डिओलाले कम्तीमा समस्याको जरा भने फेला पारेका छन्।

‘पहिले हामीले सजिलै हान्ने गोल पनि अहिले हानेका छैनौँ, पहिले सजिलै रोक्नसक्ने गोल पनि अहिले रोक्न सकेका छैनौँ,’ शनिबार अस्टन भिल्लासँग हारेपछि उनले भने। उनको स्वर एम्बुलेन्स आउन्जेल होसमा राख्न झक्झक्याइराखिएको मधौरोको जस्तो थियो। 

उनको भनेको यही हो। गोल ज्यादा गरौँ, कम खाऔँ, हार्नुको सट्टा जितौँ। तर, पहिले विपक्षीलाई मर्नु न बाँच्नु बनाउने उनको टोली अहिले आफैँ हरूवा मात्र होइन, जम्बीजस्तो अजीब बनेको छ। प्रेम, जीवन र आशा रित्तिएसरी। 

यस्तो कसरी भयो? यसका लागि हामी प्रशिक्षकलाई दोष दिन सक्छौँ? बक्सिङ डेमा एभर्टनको सामना गर्ने तयारी गरिरहेको सिटी यो विन्दुसम्म आइपुग्नुमा दुई कुरा भन्न जरुरी छ।

सबैभन्दा चकित तुल्याउने कुरा हो– पतनको स्तर। निश्चय नै यो आधुनिक युगमा कुनै पनि च्याम्पियन टोलीमा आएको सबैभन्दा ठूलो आन्तरिक पतन हो।

अहिले अस्टन भिल्लासँग पराजित भएको टोलीका १० जना खेलाडी सम्मिलित टोलीले एक वर्षपहिले साउदी अरबको जेद्दामा ब्राजिली टोली फ्लामिनेन्सलाई ४–० ले हराएको थियो। 

त्यो क्षणमा सिटी एकै वर्ष च्याम्पियन्स लिग, प्रिमियर लिग, क्लब वर्ल्ड क्लब, एफए कप र सुपर कप जित्ने पहिलो क्लब बनेको थियो। उसले शिखर चुमेको थियो। अब कुनै शिखर चुम्न बाँकी थिएन। सम्भव भएजति उसले जितिसकेको थियो।

यस्तो उपलब्धिपछि टोलीमा फुर्तिफार्ती बढ्नु स्वाभाविक थियो। ‘मैदानमा प्राप्त उपलब्धि आकर्षक र मन्त्रमुग्ध पार्ने खेलको बाइप्रोडक्ट मात्र हो,’ सिटीको वेबसाइटले निष्कर्ष निकालेको थियो।

हालान्डकेन्द्रित युगमा त्यो कुरा उतिबेला अलि बढाइचढाइजस्तो लाग्थ्यो। अहिले दुःखी रोबोटजसरी यताउता घुमिरहेका सिटीका ११ खेलाडी देख्दा अझ छक्क परिन्छ।

‘खेलाडीहरूमा अझै जोस र भोक छ,’ ग्वार्डिओलाले दुनियाँलाई आश्वस्त पारिरहे। लामो समयसम्म उनको कुरा साँचो हो जस्तो लागिरह्यो। सिटीले पेनाल्टीबाहेक मेमा भएको एफए कप फाइनलसम्म खेल हारेन। त्यसअघि १४ खेल उसले हारेको थिएन। 

सिटीको पतनबारे दोस्रो महत्त्वपूर्ण कुरा के हो भने यसको कुनै स्पष्ट कारण छैन। आफूभन्दा अघिअघि जगमगाउँदो आभा बोकेर हिँड्ने टोली अचानक झुम्राको पुतली बन्न पुगेको छ।

खेलको हारजितमा सूक्ष्म कारणहरूले काम गरेको हुन्छ। तर, हामीलाई ठूलो कारण खोज्ने आदत छ। त्यसैले अधिकांश विश्लेषणहरूमा सुनिन्छ– कुनै पनि टोलीबाट बालन डिओर जितेका खेलाडीलाई निकाल्दिनुस्, एकदुई रक्षात्मक खेलाडी घाइते पार्दिनुस्, निश्चय नै सो टोलीको प्रदर्शन खस्किनेछ।

रोड्री घाइते भएपछि सिटीले २४ अंक गुमायो। जसमा उनी घाइते भएको आर्सनलसँगको खेल पनि सामेल छ। ग्वार्डिओलाको जुनसुकै टोलीमा डिफेन्सिभ मिडफिल्डरको भूमिका महत्त्वपूर्ण हुन्छ। जसको अनुपस्थितिले सम्पूर्ण टोलीलाई प्रभावित पार्छ। टोलीले मिडफिल्डको नियन्त्रण गुमाएपछि मैदानभरिका खेलाडीले विरोधी खेलाडीलाई जित्नुपर्ने हुन्छ, जुन उनीहरूको दक्षता होइन।

रोड्री टोलीमा भएका भए हामी पतनको कुरा गरिरहेका हुन्थ्यौँ त?
 
बृहत् कारणको कुरा गर्दा, सबैभन्दा पहिले क्लबको वित्तीय अवस्थालाई लिएर विभिन्न आरोप छन्। कुनै समय सिटीले त्यस्ता आरोपको अवज्ञा गरेको थियो। हामीसँग दुनियाँको सबैभन्दा धनी क्लब छ, जो एक अधिराज्यको निर्देशनमा खेल जित्छ, जसले आफूलाई ‘अन्डरडग’का रूपमा पेस गर्न पाउँछ। पीडित टोलीका रूपमा प्रस्तुत हुन पाउँछ। यी सबै कुरा सुखद हुन्छन्, कम्तीमा केही समयका लागि।

फुटबलरहरूसँग आफ्नो ठिकअगाडिको काममा ध्यान केन्द्रित गर्ने अनौठो क्षमता हुन्छ। तर, मनुष्य ‘वाटरप्रुफ’ प्राणी होइन। मान्छेहरू कुरा गर्छन्, योजना बनाउँछन्, भविष्यबारे सोच्छन्। एजेन्टहरूले आफ्नो काम कहिल्यै बिसाउँदैनन्। त्यसको असर नपर्ने भन्ने कुरै हुँदैन।

दोस्रो सिद्धान्त के छ भने ग्वार्डिओला आफैँ केही हदसम्म उर्जाहीनताको स्रोत हुन्। उनको अनुबन्ध लम्ब्याइएपछि सिटीको जोस सेलाएको देखिन्छ। गाइँगुइँ के सुनिन्छ भने लामो समयदेखि खेलिरहेका खेलाडीहरू परिवर्तन चाहन्थे। ग्वार्डिओलाको उपस्थितिले जोस दिलाउनुका साथै थकाउँछ पनि। खेलाडीलाई चरम सीमासम्म धकेलेर, पूर्ण नियन्त्रण कायम गरेर उनले खेल जित्छन्। जितुञ्जेल यो कुरा ठिक हुन्छ। तर, त्यो विन्दु पार भएपछि के हुन्छ? 

सायद यस्तै हुन्छ।

अर्को कुरा, कुनै युगको सबैभन्दा सफल, सबैभन्दा प्रभावशाली प्रशिक्षक पनि एकदिन आफ्नो बाहिरी सीमामा पुग्छ। पेप र उनका खेलाडीबीच पहिलोपटक अन्तर देखिएको छ।

पछिल्ला केही सातायता ग्वार्डिओलाको शारीरिक अवस्थालाई लिएर पनि चिन्ता बढेको छ। उनको स्वास्थ्यका बारेमा नकारात्मक चर्चा भइरहेको छ। उनको ज्यान कमजोर छ, हालत खराब छ। उनको सुताइको खराब आनीबानी, कमजोर पाचन क्षमता र उनको टाउकोको सुख्खा छालाको कुरा भइरहेको छ। उनी यस्ता व्यक्ति हुन्, जसको ढुकढुकी फुटबलसँगै धड्किन्छ। जो यही खेलका एक अवतार हुन्। उनको शरीर त त्यो सनकको बास बस्ने घर मात्र हो। जसले उनलाई जुरुक्क उफ्रिन, आफ्ना खिरिला हात मच्चाउन बाध्य पार्छ। 

सायद सबैभन्दा चिन्ताजनक कुरा भनेको पछिल्ला साताहरूमा देखिन छाडेको जीवनको संकेत हो। सबै चिज उनको नियन्त्रणमा छ भन्ने अनुभूति हुन छाडेको छ। सायद यो शिखरबाट ओराली लाग्दा देखिने संकेत हो।

एर्लिङ हालान्डको अनुबन्धन सधैँ विरोधाभासयुक्त देखिन्थ्यो। किनकि पेप पास ज्यादा गर्ने शैलीको फुटबलका लागि परिचित छन्। उनले पास फिटिक्कै नखेल्ने, गोल मेसिनका रूपमा चिनिएका स्टार खेलाडीलाई टिममा समायोजना गरिरहेका छन्। जेम्स जोयसले केटाकेटी हसाउँदा किताब लेख्ने निधो गरेजस्तै ग्वार्डिओलाले हालान्डलाई केन्द्रमा राखेर टिम बनाउनु आफैँमा हास्यास्पद लाग्छ। 

फेरि पनि ट्रेबल जितेको सिजन राम्रै चल्यो। अन्तिममा गोल गर्ने खेलाडीले टोलीको लयमा केही सहयोग नगरे पनि टोलीले बलमा नियन्त्रण कायम राख्यो।

तर, यो फेरबदलले दीर्घकालमा टोलीलाई फाइदा गर्थ्यो त? आखिर हालान्ड सिटीमा सफल भए भन्ने धारणा च्याम्पियन्स लिग फाइनलको एक गोलले बनाएको हो। उनी हुँदा एक गोलले सिटीले खेल जित्यो, नहुँदा सिटी हार्‍यो।

हालान्ड भनेकै संख्या हुन्। तर, केही रोचक संख्या यस्ता छन् ः हालान्ड आउनुअघिको पाँच सिजनमा सिटीले उनी आएपछिको अढाई सिजनमा भन्दा उच्च दरमा गोल गरेको थियो। हालान्ड हुँदा सिटीले प्रतिखेल २.३ गोल गरेको छ भने उनीबिना २.६। हालान्ड टिममा हुँदा सिटीले गोल पनि ज्यादा खाएको छ। अब, पहिलेभन्दा कम गोल गर्ने हो भने टोलीमा एकदमै खतरा फिनिसर हुनुको के अर्थ?

अरु थुप्रै ससाना समस्या यही कुरामा समेटिन्छ। सिटी रणनीतिक रूपले पुरानो देखिन्छ। मिडफिल्डमा भ्वाङ परेजस्तो लाग्छ। सिटी बल दौडाउने शक्तिशाली खेलाडी सामु कमजोर हुन्छ भन्ने अरु प्रशिक्षकहरूले सुइँको पाएका छन्। त्यो पनि एउटा कारण र प्रभाव हो।

बलको नियन्त्रणमा हालान्डले एकदमै कम योगदान गर्छन्। तर, अन्य भूमिकामा पनि उनी असफल छन्। प्रतिखेल उनी औसतमा ७ वटा छोटा पास खेल्छन्। १० जनाको टोलीले फुटबल खेल्दा अन्ततः हार हुने नै भयो। किन उमेर पाक्दै गएका सिटीका मिडफिल्डरहरू यति धेरै कमजोर देखिन्छन्? 

साथै, हालान्ड त्यस्ता खेलाडी होइनन्, जसको वरिपरि नयाँ रणनीति बनाउन सकिन्छ। यो कुरा स्वीकार गरिसकिएको छ। उनलाई थुनामा परेको भालुजस्तो ठान्न थालिएको छ, जसलाई कुनै पनि कुराको दोष दिन मिल्दैन।

खेलाडी अनुबन्ध पनि खराब रहँदै आएको छ। सबैभन्दा पछिल्लो प्रभावशाली आगमन हालान्डकै थियो। ७ करोड ७० लाख पाउन्डका योस्को ग्वार्दिओल सफल दरिए। त्यसअघिका सफलमा नेथन अके, रुबेन डायस र रोड्री पर्छन्।

पछिल्लो १२ महिनामा केही प्रगति देखिएको छैन। खेलाडीहरूमा सुधार आएको छैन। प्रशिक्षकले नयाँ रणनीति खोज्न सकेका छैनन्। आफ्नै ज्यानभित्र कैद भएजस्ता देखिन्छन् उनी। 

‘अब जित्न बाँकी केही छैन। काम सकिएको महसुस गरिरहेको छु, सकियो अब,’ ग्वार्डिओलाले सबैभन्दा ठूलो जितपछि भनेका थिए। उनको त्यो भनाइ हप्ता बित्दै जाँदा झनझन् सत्य लाग्दै गएको छ। गार्डियनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad