१९ वर्षमुनिको महिला एसिया कपमा वर्षातको अवरोधपछि नेपाल र बंगलादेशको खेल ११ ओभरमा छोट्याइएको छ।
ओभर घटाइएको खेलमा नेपाल अहिले ब्याटिङ गरिरहेको छ।
मलेसियाको बायुमास क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले ४ ओभर खेल्दै १ विकेट गुमाएर १९ रन जोडेको छ।
नेपालकी ओपनर साना प्रवीन ७ बलमा ४ रन जोडेर रनआउट भएकी थिइन्। अहिले क्रिजमा सावित्री धामी १० रनमा र पूजा महतो ४ रनमा खेलिरहेका छन्।
यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक÷एक अङ्क बाँडेका थिए। आजको खेल नेपालको लागि महत्वपूर्ण छ।
आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो। यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए। तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।
गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन्। यसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ।
Shares

प्रतिक्रिया