नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्सलाई हराएर जनकपुर बोल्ट्स फाइनलमा पुगेपछि बिहीबार कीर्तिपुरको त्रिवि मैदानमा ‘सेलिब्रेसन’का अनेक दृश्य देखिए।
क्रिकेटप्रेमीहरूमा खुसीको कुनै सीमा थिएन। एकअर्काबीच रातो अबिरको टीका लगाउँदै प्रशंसकहरू जितको खुसी साटिरहेका थिए।
जनकपुरका समर्थकहरू जनकपुर, जनकपुर भन्दै जोडले चिच्याइरहेका थिए। यति मात्रै कहाँ हो र? फिल्म ‘पुष्पा–२’ को डायलग सापटी लिँदै उनीहरू भनिरहेका थिए, ‘फ्लावर सम्झा क्या, वाइल्ड फायर है हम।’
कर्णाली याक्सले ११९ रनको लक्ष्य दिएपछि मैदान र मैदानबाहिर भेटिएका जनकपुरका प्रशंसकहरू त्यो लक्ष्य सजिलै भेट्न सकिने भन्दै ढुक्क सुनिएका थिए। अब फाइनलमा जनकपुर फेरि सुदूरपश्चिम रोयल्ससँग भिड्दै छ। सुदूरपश्चिम त्यही टिम हो, जसले जनकपुरलाई समूह चरणमा एकपटक र क्वालिफायरमा एकपटक गरेर २ पटक हराइसकेको छ। जनकपुरका फ्यानहरू फाइनलमा सुदूरपश्चिमलाई हराउँदै दुवैपटकको हारको बदला लिने बताइरहेका थिए।
फ्यानहरू यस्तै त हुन्छन्, जर्बजस्त। त्रिवि वरपरको दृश्य देख्दा यस्तो लाग्थ्यो, फ्यानहरूको समर्थन, साथ र खुसीमै त छ खेलको खास स्वाद र सौन्दर्य।
भिडिओ: सरोज बैँजु

प्रतिक्रिया