कर्णाली याक्सलाई दोस्रो पटक पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो।
यसअघि लिग चरणको खेलमा पनि जनकपुरले कर्णालीलाई पराजित गरेको थियो।
जिमी निशमले विस्फोटक ब्याटिङ गर्दै जनकपुरलाई जितको बाटो देखाएका थिए। उनले जनकपुरका लागि सर्वाधिक १७ बलमा ४५ रन बनाए।
२ चौका र ५ छक्का प्रहार गरेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए।
हर्ष थाकेर १७ रन बनाउँदा रनआउट भए। आकाश त्रिपाठी १३ रन थप्दै पेभेलियन फर्के। मयन यादव १४ रनमा रन आउट भए। शेर मल्ल १६ रनमा अविजित रहँदा किशोर महतो शुन्य रनमा नटआउट रहे।

ओपनर शुभ कंसाकार ६ बलमा ३ रन बनाउँदा विपिन शर्माको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। अर्का ओपनर तथा कप्तान आशिफ शेख ४ रन बनाउँदा सोमपाल कामीको बलमा नन्दन यादवको हातबाट क्याच आउट नै हुन पुगे।
लाहिरु मिलान्था २ रनमा विलियम बसिस्टोको बलमा यादव कै हातबाट आउट हुन पुगे।
कर्णालीका लागि विपिन शर्माले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १७ रन खर्चे। सोमपाल कामी, विलियन बसिस्टो र जिसन मक्सुदले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रनको योगफल तयार पारेको थियो।

गुल्सन झाले बनाएको २५ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सन मोहम्मद मोहसिनको बलमा बोल्ड आउट भए।
ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका देव जिम्मी निसमको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए।
अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष थाकेरबाट क्याच आउट हुन पुगे।
तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के। चान्डविक वाल्टन ११ रन बनाउँदा हर्ष थाकेरको बलमा आसिफ शेखको हातबाट क्याच आउट भए।

कप्तान सोमपाल कामी ५ रन बनाउँदा शेर मल्लको बलमा मोहम्मद मोहसिनको हातबाट क्याच आउट भए। अर्जुन घर्ती २ रनमा रनआउट हुन पुगे।
जनकपुरका लागि ललित राजवंशी, मोहम्मद मोहसिन र जिम्मी निसमले समान २ विकेट लिए। शेर मल्ल र हर्ष थाकेरले समान एक विकेट झारे।
Shares

प्रतिक्रिया