खेल


सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

नेपालखबर
पुस ३, २०८१ बुधबार २०:५७, काठमाडौँ

गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको ‘कुलपति रनिङ शिल्ड विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता’को उपाधि पोखरा–१४ स्थित सहिद स्मृति विद्यालयले जितेको छ।

यही मङ्सिर २९ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताको आज फाइनल खेलमा स्टेपवाई स्टेप माविलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सहिद स्मृति विद्यालय च्याम्पियन बन्यो।

उपाधि विजेता सहिद स्कुलले नगद रू एक लाखका साथमा रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेता बन्न सफल स्टेपवाईले नगद रू ५० हजार पुरस्कार प्राप्त गर्यो।

यसअघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चक खेलमा दुवै विद्यालयले समान २–२ गोल गरेका थिए। सहिद स्कुलका लागि सरून सुनार र केशबहादुर रोका मगरले गोल गरे। स्टेपवाईका निराजन मगर र कुञ्ज पौडेलले गोल गरेका थिए।

निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा समेत दुवैतर्फबाट थप गोल हुन सकेन।

पेनाल्टी सुटआउटमा स्टेपवाई स्टेपले दुई गोल गर्यो  भने सहिद स्कुलले चारवटै प्रहारमा गोल गर्दै उपाधि चुम्न सफल भयो। प्रतियोगिताको उत्कृष्ट खेलाडी सहिद स्कुलका गोलरक्षक केशबहादुर रोक्का मगर बनेका छन्। उनले ट्रफीसहित नगद रू १५ हजार प्राप्त गरे।  

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरूङ, उपकुलपति प्रा डा देवकोटा, विश्वविद्यालयका, रजिस्ट्रार डा कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरूङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा २३ विद्यालयका टिम सहभागी थिए । गण्डकी विश्वविद्यालयले स्नातक तहमा देशमै पहिलोपटक ‘स्पोर्टस् म्यानेजमेन्ट’ विषय अध्यापन गराउँदै आएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad