पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो।
कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे। तर, त्यो टिमको जितका लागि पर्याप्त भएन। कूल सात खेल खेलेका कप्तान पौडेलले प्रतियोगितामा हालसम्म सर्वाधिक दुई सय ७९ रन बनाउनुका साथै आठ विकेट लिँदै आफूलाई उत्कृष्ट साबित गरे पनि त्यतिले मात्रै टोलीलाई शीर्ष चारमा पुर्याउन पर्याप्त भएन। नतिजा सात खेलमा एउटा जितमा मात्रै चित्त बुझाउनुपर्यो।
लिगको चरणको आफ्नो अन्तिममा खेलमा शुक्रबार लुम्बिनी लायन्स कर्णाली याक्ससँग ५ रनले पराजित भयो। जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन।
हारको सिलसिला सुरुदेखि अन्तिमसम्मै
लुम्बिनीको हारको सुरुआत पहिलो खेलदेखि नै भयो। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगरसँग दुई विकेटले पराजित भयो। दोस्रो खेलमा पोखरासँग १० विकेटले हार्यो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा पनि जनकपुरसँग एक रनले पराजित भयो।
पाँचौँ खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको थियो। तर, छैटौँ खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि एनपीएलको जारी संस्करणबाट बाहिरिने पहिलो टोली बन्न पुग्यो।
चलेनन् विदेशी खेलाडी
अनुभवी खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा लिइएको थियो। तर, केही विदेशी खेलाडीले मध्यम प्रदर्शन गरे पनि केही खेलाडी भने चल्नै सकेनन्। लुम्बिनीको सबैभन्दा आशा गरिएका खेलाडी थिए, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द। चन्दको कप्तानीमा भारतले सन् २०१२ को यू-१९ विश्वकपको उपाधि हात पारेको थियो। यू-१९ को फाइनलमा खेलमा चन्दले शतकसमेत प्रहार गरेका थिए। उनी आईपीएल स्टारसमेत हुन्। तर, एनपीएलमा उन्मुक्त चल्नै सकेनन्।
लुम्बिनीबाट उन्मुक्तले चार खेल खेले। पोखराविरुद्धको खेलमा उनी शून्य रनमै आउट भए। सुदूरपश्चिमसँगको खेलमा पनि उनी चल्न सकेनन्। चार रन बनाएर आउट हुन् पुगे। चितवनविरुद्धको खेलमा पनि शून्य रनमै आउट भएका उन्मुक्तले काठमान्डु गुर्खाजविरुद्धको खेलमा भने १४ रन बनाए। एनपीएलका चार खेलमा उन्मुक्तले १८ रन मात्रै बनाए।
अस्ट्रेलियन अलराउन्डर बेन कटिङले पनि लुम्बिनीलाई खासै राम्रो योगदान दिन सकेनन्। एनपीएलमा लुम्बिनीका तर्फबाट तीन खेल खेलेका कटिङले जम्मा १० रन मात्रै जोडे। ३७ वर्षीय दायाँहाते ब्याटर र मध्यम तीव्र गतिका बलर कटिङ सहभागी सन्राराइजर्स हैदरावादले सन् २०१६ इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिते पनि एनपीएलमा उनको प्रदर्शन निराशाजनक नै रह्यो।
लुम्बिनीका तर्फबाट खेल्ने विदेशी खेलाडीमध्ये इङ्ग्ल्यान्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्सले भने केही योगदान गरे। लुम्बिनीबाट सातवटै खेल खेलका उनले एक सय ६५ रन बनाए।
यस्तै, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनीका लागि सातवटै खेल खेले। सातवटा खेलबाट ८३ रन बनाएका उनले नौ विकेट आफ्नो नाममा दर्ता गरे।
बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्सको प्रदर्शन पनि मध्यम नै रह्यो। सातवटै खेल खेलेका उनले ब्याटिङतर्फ ६ रन बनाउँदा बलिङतर्फ भने नौ विकेट लिन सफल भए।
स्वदेशी खेलाडीको प्रदर्शन
लुम्बिनीका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेल एनपीएलका लिग चरणका सातवटै खेल खेले। उनले सातवटा खेलबाट २७९ रन बनाउन सफल भए भने ८ विकेट आफ्नो नाममा दर्ता गरे। उनले एनपीएलमा सर्वाधिक ९५ रन बनाए भने दुई अर्धशतकसमेत प्रहार गरे।
लुम्बिनीबाट सातवटै खेल खेल्ने अर्का स्वदेशी खेलाडी हुन्, सन्दीप जोरा। उनले सातवटा खेलबाट एक सय २० रन बनाउँदा एक विकेट पनि आफ्नो नाममा दर्ता गराए।
छवटा खेल खेलेका अर्जुन साउदले कूल ६८ रन जोडे। विवेक यादवले ६ खेलबाट १०० रन बनाए भने ३ विकेट हात पारे। उनले एक अर्धशतक समेत प्रहार गरेका थिए। टोलीका लागि छवटै खेल खेलेका आशुतोष घिरैयाले कूल ४४ रन जोडे।
साथै पाँचवटा खेल खेलेका दुर्गेश गुप्ताले कूल पाँच रन बनाउँदा तीन विकेट आफ्नो नाममा दर्ता गराए भने चार खेल खेलेका सूर्य तामाङले कूल १८ रन जोड्दै एक विकेट लिए भने चार खेल नै खेलेका अभिषेक गौतमले एक रन जोड्न नसके पनि ६ विकेट लिए।
लुम्बिनीबाट दिनेश अधिकारी दुई खेल खेले। जसमा उनले १४ रन जोडे। लुम्बिनीबाट तिलक भण्डारी र विकास आग्री एक/एक खेल खेले। जसमा भण्डारीले तीन रन बनाए भने तीन विकेट लिए। यस्तै, आग्रीले तीन विकेट आफ्नो नाममा दर्ता गरे।
रोहितको एक्लो प्रयास
लुम्बिनी लायन्सका लागि कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेलको योगदान भने प्रशंसनीय नै रह्यो। एनपीएलमा आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्व कप्तान पौडेलले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाए। विराटनगरविरुद्ध बलिङ भने गरेनन्।
रोहितले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५९ बल खेल्ने क्रममा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाए।
तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्व पाँच रन बनाए भने एक विकेट हात पारे। चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्व उनले सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारे।
आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्दा लुम्बिनीका पौडेल ब्याटिङ र बलिङ दुवैतर्फ नायक बने। उनले चितवन राइनोजविरुद्ध ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा बलिङतर्फ चार विकेट चट्काए।
छैटौँ खेल र सातौँ खेलमा भने उनी जम्न सकेनन्। छटौँ खेलमा काठमान्डुविरुद्ध आठ रन मात्रै बनाएका रोहितले बलिङतर्फ एक विकेट पनि झार्न सकेनन्। आठौँ खेलमा कर्णालीविरुद्ध १० रन मै आउट भएका रोहित बलिङतर्फ भने एक विकेट लिन सफल बने।
पौडेल जारी एनपीएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन्। उनले सात खेलबाट सर्वाधिक दुई सय ७९ रन बनाउन सफल भएका छन्। रोहित जारी एनपीएलमा ११ छक्का र २६ चौकासमेत प्रहार गरेका छन्।
Shares

प्रतिक्रिया