सुदूरपश्चिम रोयल्सका ईशान पाण्डेले कम योगफल बने पनि जित निकाल्न सक्छौँ भन्ने आत्मविश्वास रहेको बताएका छन्।
जनकपुर बोल्ट्सविरुद्ध सामान्य लक्ष्य रक्षा गर्दै जित निकालेपछि पत्रकार सम्मेलनमा सुदूरपश्चिमका अलराउन्डर ईशानले सो भनाइ राखेका हुन्।
उनले आफ्नो टोलीले ब्याटिङ गर्दा पनि पिचमा बल फसेर आइरहेकाले बलिङबाट जित निकाल्न सकिन्छ भन्ने विश्वास रहेको बताए।
बिहान ब्याटिङ गर्न कठिन रहेको र आफ्नो टोलीले १२० रनको योगफल पार गरेपछि जित सम्भव हुने विश्वास रहेको उनको भनाइ छ।
नेपाली ब्याट्सम्यानबाहेक अन्यलाई यो कन्डिसनमा खेल्न सहज नहुने भएकाले विकेट लिन लगातार स्पिनर प्रयोग गरिएको अनुभव पनि उनले सुनाए।
कीर्तिपुरस्थित त्रिवि मैदानको पिचमा लेफ्ट आर्म स्पिनरसँग खेल्न सहज नहुने भएकाले पनि हरमित सिंहलाई नै प्रयोग गरिएको ईशानको प्रस्टोक्ति छ। उनले हरमितसँग नेपालमा खेलेको अनुभव भएकाले पनि उनलाई नै अवसर दिएको बताए।
पछिल्लो हारपछि आएको दुविधा जनकपुरविरुद्ध जितले हट्ने भएकाले पनि बिनादबाब खेलेको ईशानको भनाइ छ। यो जितसँगै अंकतालिकामा माथि पुग्ने भएकाले पनि जनकपुरसँग जितका लागि प्रोत्साहित भएको उनी बताउँछन्।
ब्रायन लाराजस्ता क्रिकेटर आउने भएकाले पनि आफू उत्साहित रहेको ईशानको भनाइ थियो।
Shares

प्रतिक्रिया