पोखरा एभेन्जर्सका ओपनर ब्याटर दिनेश खरेलले नेपाली राष्ट्रिय टोलीबाट क्रिकेट खेल्ने चाहना देखाएका छन्।
मंगलबार नेपाल प्रिमियर लिगमा कर्णाली याक्ससँग पराजित भएपछि पत्राकारसँगको कुराकानीमा उनले अवसर पाउँदा नेपालबाट खेल्ने चाहना रहेको बताएका हुन्।
दिनेशले केही दिनअगाडि नै नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईसँग कुराकारी भएको समेत खुलाए। उनले नेपाली क्रिकेटमा धेरै क्षमतावान् खेलाडी रहेको पनि बताएका छन्।
न्युजिल्यान्डमा क्रिकेट खेल्दै आएका दिनेशले त्यहाँका नेपाली अग्रज क्रिकेटरहरूकै आग्रहमा एनपीएल खेल्न आएको बताए। उनले आफ्नो लागि नेपालको पिचमा खेल्न सहज भने नभएको अनुभव सुनाए।
मंगलबार कर्णालीविरुद्ध मिडल अर्डरमा राम्रो हुन नसक्दा १७० रनको लक्ष्य राखे पनि सफल हुन नसकेको उनले बताएका छन्।
टोलीले राम्रो सुरुवातका बाबजुद मिडल अर्डर नचल्दा योजना गरिए अनुसारको लक्ष्य दिन नसकेको बताएका छन्।
ओपनर आन्द्रियस गौस र आफूले राम्रो सुरुवात दिलाए पनि त्यसलाई टोलीले निरन्तरता दिन नसकेको उल्लेख गरे । स–सानो पक्षमा ध्यान दिएर खेल्ने हो भने आगामी खेलमा जित सम्भव रहेको उनको अठोट छ।
कर्णालीको जितमा ६ विकेट लिएका विलियम बासिस्टाले आफ्नो बलिङ अनुरूप पिचमा साथ पाउँदा विकेट निस्किएको बताए। उनले आगामी खेलमा पनि यही प्रदर्शन जारी राखे अंक तालिकामा सुधार हुने विश्वास व्यक्त गरेका छन्।
उनले नेपालमा धेरै क्षमतावान युवा क्रिकेटर रहेको उल्लेख गर्दै नेपाली क्रिकेट दिनप्रति दिन उचाईमा पुगेको बताए । एनपीएल जस्तो प्रतियोगिताले युवा क्रिकेटरको प्रतिभालाई थप विकास गर्ने उनको विश्वास छ।
Shares

प्रतिक्रिया