खेल


लुम्बिनीको पहिलो जितपछि रोहितले भने- अघिल्ला खेलमा मैले बलिङ नगर्नु गल्ती भयो

लुम्बिनीको पहिलो जितपछि रोहितले भने- अघिल्ला खेलमा मैले बलिङ नगर्नु गल्ती भयो

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार २२:७, काठमाडौँ

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले चार हारपछि पनि आफ्नो टोली नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणबाटै बाहिरिने पक्का भइनसकेको बताएका छन्। 

मंगलबार पहिलो जितपछि पत्रकारसँग कुरा गर्दै यसअघिका खेलमा राम्रो नतिजा नआए पनि आज जित निकाल्नु सुखद् पक्ष रहेको प्रतिक्रिया दिए।

चितवन राइनोजविरुद्ध जित हात पारेपछि उनले आगामी यात्रा तय गर्न यो जित पर्याप्त नहुने भएकाले बाँकी खेलमा पनि ध्यान दिने बताएका छन्।

रोहितले पछिल्ला खेलमा बलिङ राम्रो हुन नसके पनि आजको खेलमा राम्रो साथ पाएको बताए। पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान पौडेलले ८० रन बनाएका थिए। सुरुमै विकेट गएपछि चौथो क्रममा आएका उनले टोलीलाई अन्तिमसम्म टिक्दै सम्हालेका थिए। उनकै उच्च स्कोरमा चितवनलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। 

बलिङतर्फ पनि रोहित नै निर्णायक बने। पूरै चार ओभर बलिङ गरेका उनले मात्रै १७ रन खर्चिएर ४ विकेट लिएका थिए। यसअघि कमै मात्र बलिङ गर्ने उनले आज भने दोस्रो ओभरबाटै आफै बलिङ गर्न थालेका थिए। राष्ट्रिय टिममा पनि उनले बिरलै बलिङ गर्छन्।  

यसअघिका खेलमा आफूले बलिङ नगर्नु गल्ती महसुस भएको उनले चितवनसँगको सफलतापछि बताए। 

चार खेलमा हार बेहोर्दा सबै खेलाडीको मनोबल उच्च बनाइराख्न सहज नभएको बताएका छन्। 

कीर्तिपुरस्थित त्रिवि मैदानको नयाँ पिचमा आफ्नो लागि अहिलेसम्मकै राम्रो भइहेको पनि बताएका छन्। जारी लिगमा उनी सबैभन्दा बढी रन बनाउने ब्याटर हुन्। 

पाँचौँ खेलमा आएर पहिलो जित निकालेको लुम्बिनीले अब दुई खेल खेल्न बाँकी छ। तर यी दुवै खेल जिते पनि प्लेअफमा पुग्न कठिन छ। 

चितवन राइनोजको प्रशिक्षक उमेश पटवालले रोहित र साद बिन जफरले उत्कृष्ट ब्याटिङ गरेपछि आफ्नो टोलीको लक्ष्य पूरा नभएको बताएका छन्।

उनले हारको बाबजुद कप्तान कुशल मल्लले राम्रोसँग जिम्मेवारी बहन गरेको उल्लेख गरे। कहिलेकाहीँ खराब दिन आउने र आज कुशलको लागि राम्रो नभएको उनको अनुभव छ। 

विदेशी खेलाडीभन्दा अगाडि रोहित उच्च रनकर्ता हुनु नेपाली क्रिकेटका लागि सुखद् पक्ष रहेको बताएका छन्। एनपीएलले नेपाली क्रिकेटलाई अर्को उचाइमा लैजाने उनको बुझाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad