काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दसौँ दिन बुधबार (आज) पनि दुई खेल हुँदै छन्।
सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। सन्तुलित टोलीका रूपमा देखिएको जनकपुर पाँचौँ जितसँगै प्लेअफ पुग्ने पहिलो टोली बन्न चाहन्छ।
आजको यो खेलमा आशिफ र आरिफ शेख आमनेसामने हुनेछन्। उनीहरू सहोदर दाजुभाइ हुन्। भाइ आशिफ जनकपुरका मार्की खेलाडीसमेत हुन् भने दाजु आरिफलाई सुदूरपश्चिमले अक्सनबाट भित्र्याएको हो।
उपाधि दाबेदारका रूपमा हेरिएको जनकपुर अनिल शाहको कप्तानीमा मैदान उत्रिँदै छ।
लिगका तीन खेलमा २ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम चौथो जितका साथ प्लेअफ सम्भावनालाई बलियो बनाउन चाहन्छ।
एनपीएलमा जनकपुरसँगै सुदूरपश्चिमलाई उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ।
आज दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।
प्लेआफमा पुग्ने गणितीय आशा जीवित राखेको लुम्बिनीलाई यो खेल जित्नैपर्ने दबाब छ। आज हारे लुम्बिनी बाँकी खेलअघि नै समूह चरणबाटै बाहिरिनेछ।
यी दुई टोलीबीचको खेलको निर्णयले प्लेअफ समीकरण अझ रोमाञ्चक बन्नेछ। यो खेल हारे काठमान्डु पनि प्लेअफमा पुग्ने सम्भावना लुम्बिनीकैजस्तै कमजोर बन्नेछ।
यसअघि तीन खेल मात्रै खेलेको काठमान्डुले एक जित र दुई खेलमा हार भोगेको छ। त्यसैले शीर्ष चारमा रहन काठमान्डु पनि जित्नैपर्ने दबाबमा छ।
काठमान्डु २ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ। काठमान्डुले चौथो खेल खेल्दा लुम्बिनीको भने यो छैटौँ खेल हो। सुरुका चार खेलमा लगातार पराजित लुम्बिनीले मंगलबार चितवनलाई हराउँदै २ अंक जोडेको हो। लुम्बिनी रनरेटका आधारमा पाँचौँ स्थानमा छ।
अंक तालिकामा चार टोलीको समान २ अंक भए पनि नेट रनरेटमा लुम्बिनी अगाडि रहेको हो।
काठमान्डु करण केसीको कप्तानीमा मैदान उत्रिँदा लुम्बिनीको नेतृत्व भने रोहित पौडेलले गर्नेछन्।
जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका रोहित लिगमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्।
रोहितले लिगका पाँच खेलमा २ सय ६१ रन बनाएका छन्।
दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा छन्।
रविले ५ खेलमा १ सय ६९ रन बनाएका छन्। जनकपुरका लाहिरु मिलान्थाले चार खेलमा १ सय ६८ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन्।
Shares

प्रतिक्रिया