कर्णाली याक्ससँग पराजित भएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना केही कठिन बनेको छ।
मंगलबारको दोस्रो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो। एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ। पराजित पोखरा २ अंकमा छैटौँ स्थानमा छ।
पोखरालाई पराजित गर्दै कर्णालीले भने एनपीएलमा तेस्रो जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ। एनपीएलको पाँच खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार भोगेको कर्णाली अंक् तालिकाको चौथो स्थानमा छ। जितसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ।
पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। कर्णालीका लागि गुल्सन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे। गुल्सनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
चाडविक वाल्टनले ४२ रन बनाउँदै पेभेलियन फर्के। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए।

ओपनर बाबर हायात ७ रन बनाउँदा सागर ढकालको बलमा बोल्ड भए। ३ बलको सामान गरेका देव खनाल शुन्य रनमा नै विपिन खत्रीको बलमा एलबीडब्लु धरापमा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटियो।
कर्णाली याक्सका विलियन बसिस्टोले ६ विकेट लिएसँगै पोखराको ब्याटिङ लाइन धरापमा परेको थियो।
पहिलो विकेटका लागि दिनेश खरेल र आन्दे्रस गउसले ३.५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई राम्रो सुरुवात दिलाएका थिए। खरेल २६ रन बनाउँदा युनिस ठकुरीको बलमा बोल्ड आउट भए। गउस २५ रनमा क्याच आउट हुन पुगे।

तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा पोखराले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन।
विलियमले चौथो ओभरमा तीन विकेट लिएपछि पोखराको ब्याटिङ तहसनहस हुन पुग्यो। पोखराका दिलिप नाथ ३ रन बनाउँदा १४ औँ ओभरको पहिलो बलमा विलियमको बलमा अर्जुन घर्तिको हातबाट क्याच आउट भए। सोही ओभरको तेस्रो बलमा माइकल लिस्क २ रनमा बोल्ड आउट भए। अन्तिम बलमा नारायण जोशी १ रनमा एलबीडब्लु धरापमा परे।
रेमोन रेफरले २० तथा कप्तान कुशल भुर्तेलले १० रन थपे। विपिन खत्री १० रनमा रनआउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
पोखरालाई कम स्कोरका रोक्न घातक बलिङ गरेका विलियमले ६ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २८ रन दिए।

योसँगै एनपीएलको एकै खेलमा पाँच विकेट लिने उनी चौथो खेलाडी बनेका छन्। यसअघि सोहेल तनविर, नरेन साउद र हर्ष ठाकरले एकै खेलमा पाँच विकेट लिएका थिए।
सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए।
Shares

प्रतिक्रिया