खेल


आजदेखि पुनः सञ्चालन हुँदै एनपीएल, हुँदै छन् यी दुई खेल

पहिलो खेलमा जितविहीन लुम्बिनी र चितवन, दोस्रो खेलमा कर्णाली र पोखरा
आजदेखि पुनः सञ्चालन हुँदै एनपीएल, हुँदै छन् यी दुई खेल

फाइल तस्बिर: एनपीएल हेर्दै दर्शक


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ७:१५, काठमाडौँ

एकदिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेल आज (मंगलबार) देखि पुन: सञ्चालन हुँदै छन्। 

सदाझैँ आज पनि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई प्रतिस्पर्धा हुनेछन्। 

बिहान ९ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्। 

हालसम्म चार खेल खेलेको चितवनले ३ मा जित हासिल गरेको छ भने एउटामा हार भोगेको छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो भने तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको थियो। फेरि चौथो खेलमा चितवनले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो। चितवन ६ अंकसहित तेस्रो स्थानमा छ। 

आज चितवनको प्रतिस्पर्धी रहेको लुम्बिनी लायन्स भने जितविहीन छ। अहिलेसम्म खेलेका चारै खेल हारेको लुम्बिनी अ‌ंकतालिकाको पुछारमा छ। लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेट, दोस्रो खेलमा पोखरासँग १० विकेट, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रन तथा चौथो खेलमा जनकपुरसँग १ रनले हारेको हो।

आजको दोस्रो खेलमा पोखरासँग भिड्न लागेको  कर्णाली याक्सले यसअघि खेलमा ४ खेलमध्ये दुईमा जित हासिल गरेको छ भने दुईमा हार भोगेको छ। जसबाट उसले ४ अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ।

पहिलो खेलमा जनकपुरसँग ७ विकेट तथा दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग ३ विकेटले हारेको कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले हराउँदै पहिलो जित हासिल गरेको थियो। यसपछि चौथो खेलमा पनि उसले विराटनगरलाई ७ रनले हराएको थियो। 

यसैगरी पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जित हासिल गरेको छ भने दुईमा हार बेहोरेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग ७ विकेटले हारेको हो। तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो। जसबाट पोखरा २ अंक जोड्दै पाँचौँ स्थानमा छ।

गत आइतबारसम्म एनपीएलमा १५ खेल सकिएका छन्।

यही मंसिर १५ मा सुरु एनपीएलमा जनकपुर बोल्ट्स हालसम्मका चारै खेल जितेर अपराजित रहँदै अंक तालिकामा शीर्ष स्थानमा छ। उसले चार खेलबाट ८ अंक बनाएको छ।

जनकपुर बोल्ट्सले उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सलाई पनि ८ विकेट, तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले तथा चौथो खेलमा लुम्बिनी लायन्सलाई १ रनले हराएको हो। 

एनपीएलमा ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हार गरेर दोस्रो स्थानमा छ। उसले ४ खेलबाट ६ अंक जोडेको छ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराएको हो। चौथो खेलमा भने चितवन राइनोजसँग ३३ रनले हार्‍यो। 

काठमाडौँ गुर्खाज दुई अंकका साथ छैटौँ स्थानमा छ।

पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौँ ले दोस्रो खेलमा कर्णालीलाई ३ विकेटले हरायो। तेस्रो खेलमा भने काठमाडौँ सुदूरपश्चिमसँग ७२ रनले हार्‍यो।

यस्तै ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर २ अंकका साथ तालिकाको सातौँ स्थानमा छ। 

पहिलो खेलमा विराटनगर जनकपुरसँग ८ विकेटले हारेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको थियो।

तेस्रो खेलमा भने लुम्बिनीलाई २ विकेटले हराएको विराटनगर चौथो खेलमा कर्णालीसँग ७ रनले हार्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad